सिड्नी, अष्ट्रेलिया ।
गैरआवासीय नेपाली संघको केन्द्रीय विवादको असरस्वरुप अष्ट्रेलियामा तेश्रो एनआरएन अष्ट्रेलिया दर्ता भएको छ । हाल क्रियाशील रहेको एनआरएन अष्ट्रेलियासँगै केही समय अघि महेश श्रेष्ठ नेतृत्वको एनआरएनसँग नै सम्बन्धित पदाधिकारीहरुले एनआरएन अष्ट्रेलिया लिमिटेड दर्ता गरेका थिए । अहिले फेरि जुलाई १८ तारिखको मिति राखेर अर्को एनआरएन नामको संस्था दर्ता गरिएको छ । यसै सम्बन्धमा जानकारी दिन सिड्नीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अधिवेशन आयोजक समितिका संयोजक विवेक थापाले संस्थाको बारेमा जानकारी गराएका थिए । थापाका अनुसार यो संस्थाले अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुलाई समेटेर नयाँ कार्यसमिति बनाउनेछ । THE NON-RESIDENT NEPALI ASSOCIATION (NRNA) AUSTRALIA LIMITED नाम रहेको संस्था दर्ता भएको हो । यसको कम्पनी नम्बर ६८९२०००९३ रहेको छ ।
थापाको संयोजकत्वमा बनेको तदर्थ समितिमा ३४ जना सदस्य छन् । यसअघि एनआरएन अष्ट्रेलिया लिमिटेड दर्ता गर्नेहरु यसैमा देखिन्छन् ।
थापाले उपलब्ध गराएको सल्लाहकारको सूचिमा पूर्वअध्यक्षहरु गणेश केसी, केशव कँडेल, नन्द गुरुंग, सुरेन्द्र सिग्देल छन् । यस्तै अन्य सल्लाहकारमा शेषमणि शर्मा, प्रेम सापकोटा, निरज श्रेष्ठ र कञ्चन पोखरेल छन् ।
नेपालमा शेष घले संयोजक रहेको उच्चस्तरीय समितिले गरेका महाधिवेशनबाट चुनिएका बीआर लामाले चिठ्ठी पठाएर बिबेक थापालाई जिम्मेवारी दिएको हामीले यसअघि सार्वजनिक गरिसकेका थियौं । यसै घटनाक्रमको अर्को कडीका रुपमा थापाले अष्ट्रेलियामा संस्था दर्ता गरेका हुन् ।
पत्रकार सम्मेलनपछि सोधिएको प्रश्नको जवाफ दिँदै थापाले नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाट मान्यता प्राप्त आईसीसीको निर्देशन अनुसार आफुले संस्था दर्ता गरेको बताए । उनले परराष्ट्र मन्त्रालयले बद्री केसी नेतृत्वको एनआरएनलाई नै मान्यता दिएमा त्यसै अनुसार जान तयार रहेको पनि बताएका थिए । एनआरएन अष्ट्रेलियाको अहिलेको नेतृत्वले केन्द्रमा भएको विवादमा एउटा पक्ष लिएका कारण यस्तो परिस्थिति आएको उनले दावी गरेका छन् ।
प्रतिक्रिया