अष्ट्रेलियासहित २५ देश एकजुट, गाजामा क्षेत्रमा युद्ध अन्त्यको अपिल

अष्ट्रेलियासहित २५ देश एकजुट, गाजामा क्षेत्रमा युद्ध अन्त्यको अपिल


अष्ट्रेलिया, बेलायत, फ्रान्ससहित २५ देशले गाजामा जारी युद्ध तत्काल अन्त्य गर्न र ईजरेलले लगाएको सहायता प्रतिबन्ध हटाउन संयुक्त अपील गरेका छन्।

उनीहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै गाजामा मानवीय संकट गहिरिँदै गएको र सहायता वितरण स्थलगतरूपमा मृत्यु हुने घटनाको संख्यामा वृद्धि भएकोप्रति गम्भीर चासो व्यक्त गरेका छन्।

बेलायत, अष्ट्रेलिया, फ्रान्स, इटाली, जापान, क्यानडा, डेनमार्कलगायतका देशका विदेशमन्त्रीहरूले विज्ञप्तिमा भनेका छन्, ‘हामी सबैले एउटै सरल र अत्यावश्यक सन्देश दिन चाहन्छौं – गाजामा युद्ध अन्त्य हुनुपर्छ।’

विज्ञप्तिमा ईजरेली सरकारले अपनाएको सहायता वितरण मोडेललाई ‘खतरनाक, अस्थिरता बढाउने र गाजावासीको मानव मर्यादा खोस्ने’ कदम भन्दै कडा आलोचना गरिएको छ।

विज्ञप्तिमा हमासद्वारा अपहरणमा परेका बन्धकहरूको तत्काल र बिना सर्त रिहाइको माग गरिएको छ।

यस संयुक्त अपीलमा अष्ट्रेलिया, अस्ट्रिया, बेल्जियम, क्यानडा, डेनमार्क, एसटोनिया, फिनल्याण्ड, फ्रान्स, आइसल्याण्ड, आयरल्यान्ड, इटाली, जापान, लाट्भिया, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्याण्ड्स, न्यूजील्यान्ड, नर्वे, पोल्याण्ड, पोर्चुगल, स्लोभेनिया, स्पेन, स्विडेन, स्वीट्जरल्याण्ड र बेलायतका विदेशमन्त्रीहरूले हस्ताक्षर गरेका छन्।

गाजामा ईजरेली नाकाबन्दी विरुद्ध प्यालेस्टिनीहरू विरोध प्रदर्शनमा उत्रिरहेका छन्। मानवीय सहायता रोकिँदा लाखौं सर्वसाधारण भोक, रोग र असुरक्षाको चपेटामा परेका छन्।