एनआरएन भिक्टोरियाका एक उम्मेद्वारले कुटपिट गरेको निर्वाचन आयोगमा उजुरी

एनआरएन भिक्टोरियाका एक उम्मेद्वारले कुटपिट गरेको निर्वाचन आयोगमा उजुरी


मेलबर्न, अष्ट्रेलिया ।

मेलबर्नको ग्लेनरोयस्थित एक हेयर सैलुनबाहिर आफुमाथि एनआरएन अष्ट्रेलियाको आगामी जुलाई २६ तारिखमा हुने निर्वाचनमा उम्मेद्वार भएका एक व्यक्तिले हातपात गरेको भन्दै सिजन खड्काले उजुरी दिएका छन् । उनले लेखेको ईमेलमा दिउँसो करिब १ बजेको समयमा ति आरोपित युवा उम्मेद्वार अन्य केही युवासँगै आएर अनाहकमा आफुमाथि कुटपिट गरेको लेखिएको छ ।

यस लगत्तै घटनास्थलमा प्रहरी बोलाइएको र प्रहरीले घटनाका विषयमा अनुसन्धान गरिरहेको उनले केविसीखबरसँगको कुराकानीमा बताए । उनले भने “मैले चिनेका पनि हैन, कारण पनि थाहा छैन तर म माथि आक्रमण भयो । कानको पछाडी भागबाट धेरै रगत बगेछ, उपचार पछि मैले पुलिस स्टेशनमा गएर बयान दिएर आएको हुँ ।”

खड्काले निर्वाचन आयोगमा उजुरी दिएको एनआरएन अष्ट्रेलियाका प्रमुख निर्वाचन आयुक्त डिल्ली ढकालले पुष्टि गरे । उनले भने, “यस विषयमा सम्बन्धित राज्यको निर्वाचन आयुक्तसँग के भएको हो बुझ्न भनेको छु । घटना प्रहरीकोमा गइसकेको रहेछ, भाईलाई सुरक्षित रहन र स्वास्थ्यको विचार गर्न भनेको छु ।”

केविसीखबरसँग प्रतिक्रिया दिँदै भिक्टोरिया प्रहरीले घटना भएको पुष्टि गरेको छ । घटनामा लालोर निवासी २९ वर्षीय युवकलाई पक्राउ गरेर प्रहरी कार्यालय ल्याइएको र सोधपुछ रिहा गरिएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका प्रत्यक्षदर्शी या कसैसँग घटनासँग सम्बन्धित भिडियो या जानकारी भए क्राईम स्टपर्सलाई १८०० ३३३ ००० मा जानकारी दिन पनि अनुरोध गरेको छ ।

Editors Note – पीडितले आयोगमा दिएको उजुरी

Updated : 22 July 2025 – 3.39 PM