मेलबर्न, अष्ट्रेलिया ।
गैरआवासीय नेपाली संघले आफ्ना सबै आजीवन सदस्यहरुलाई आगामी जुलाई २६ तारिख हुन लागेको निर्वाचनमा सहभागी गराउने भएको छ । यसअघि आजीवन सदस्यहरुले हरेक वर्ष नवीकरण किन गर्नुपर्ने ? भनी धेरैले चासो व्यक्त गरेका थिए । दिइएको समयावधिभित्र आफ्नो पछिल्लो स्थितिको विषयमा अपडेट गर्नुपर्ने प्रावधानका कारण यस्तो अपडेट उपलब्ध नगराउने आजीवन सदस्यहरुको नामावली अन्तिम मतदाता सूचिमा थिएन । यस्तो संख्या अष्ट्रेलियाभरीबाट ५ सय ६२ जना थियो । आजीवन सदस्यहरुको बढ्दो चासोका बिचमा एनआरएन अष्ट्रेलियाको संरक्षक परिषद्को बैठकमा यस विषयमा व्यापक छलफल भएको थियो ।
संरक्षक परिषद्मा पूर्वअध्यक्षहरु रहने गर्दछन् । बैठकले कानूनी परामर्श गरी सम्भव भएसम्म आजीवन सदस्यहरुलाई पनि समावेश गर्न सुझाव दिएको थियो । बैठकमा सहभागी एक पूर्वअध्यक्षका अनुसार अधिकांशको मत आजीवन सदस्यलाई यस्तो अधिकार दिइनुपर्छ भन्ने भएपछि एनआरएन अष्ट्रेलियाले यस विषयमा कानूनी परामर्श गरेको थियो ।
परामर्शपछि केही समयावधि दिएर नयाँ मतदाता आजीवन सदस्यहरुको राज्य परिवर्तन भएको भए त्यसको जानकारी माग गरिने भएको छ । कुनै आजीवन सदस्यले यस समयमा पनि कुनै अपडेट उपलब्ध नगराए यसपूर्व दर्ता गरिएकै राज्यमा निजहरुको सदस्यता अद्यावधिक गरिनेछ ।
एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले यस सम्बन्धी सूचना केही समयपछि सार्वजनिक गर्ने तयारी भइरहेको पुष्टि गरे । कानूनी पाटोमा कुनै समस्या नहुने भएपछि यसरी थप भएका आजीवन सदस्यमध्ये केहीले उम्मेद्वारी दिन चाहेमा त्यसका लागि समेत अवसर उपलब्ध गराइने तय भएको छ ।
एनआरएन आईसीसीको विवादका कारण अष्ट्रेलियामा पछिल्लो समय सामाजिक सञ्जालमा निर्वाचन र यसका प्रक्रियाहरुलाई सार्नुपर्ने तर्कहरु आइरहेका छन् । मुख्यत विधान अनुसार जुलाई ३१ सम्ममा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने भएका कारण मिति गुजार्न प्रयास भएको रुपमा यी प्रतिक्रियाहरुलाई लिइएको बताईन्छ । निर्धारित समयमै निर्वाचन गर्ने, आजीवन सदस्यहरुलाई पनि समेट्ने र एनआरएन अष्ट्रेलियालाई एकताबद्ध बनाउनका लागि पछिल्लो कदम चालिएको बुझिन्छ ।
प्रतिक्रिया