एनआरएन अष्ट्रेलिया चुनाव, उम्मेद्वारी दर्तापछि यस्तो देखियो दृश्य

एनआरएन अष्ट्रेलिया चुनाव, उम्मेद्वारी दर्तापछि यस्तो देखियो दृश्य


मेलबर्न, अष्ट्रेलिया ।
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको निर्वाचनमा अध्यक्ष पदमा तीन जनाको उम्मेद्वारी परेको छ । ब्रिसबेनबाट सन्तोष कुँवर, डार्विनबाट सञ्जीव ढकाल गोर्खाली र पर्थबाट भैरव ढकालले आगामी कार्यकालका लागि संस्था हाँक्ने अठोटका साथ उम्मेद्वारी दिएका हुन् ।

यस्तै, उपाध्यक्षमा २ जनाको उम्मेद्वारी परेको छ । एनआरएन अष्ट्रेलियाका अहिलेका प्रवक्ता बबिन मिश्र र रमेश पौडेल चुनावी मैदानमा देखिएका छन् । यस्तै महासचिवका लागि तीन जनाको उम्मेद्वारी परेको छ । क्यानबेराबाट चुणमणि सापकोटा र सिड्नीबाट भरतमणि देवकोटाको नाम सार्वजनिक भएको छ । वर्तमान कोषाध्यक्ष अर्जुन गौतमले महासचिवमै उम्मेद्वारी दिएको भएपनि केही कागजात मागिएको प्रमुख निर्वाचन आयुक्त डिल्ली ढकालले पुष्टि गरे । महासचिवमा उम्मेद्वारी दिएका गौतमले निर्वाचन आयोगको सिष्टमले पैसा तिरिसक्दा पनि त्यसको कन्फर्मेसन नदिएपछि आफुले तत्कालै ईमेलमार्फत सम्पर्क गरेको र मागिएको कागजात पठाएको बताएका छन् । यस विषयमा निर्णय प्रक्रियामै रहेको प्रमुख आयुक्त ढकालले बताएका छन् ।
कोषाध्यक्ष पदमा निजन चौलागाई र लुना सिवाकोटीको उम्मेद्वारी परेको छ भने सचिव पदमा कल्याण खड्का र गणेशराज गौतम प्रतिस्पर्धामा देखिएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नामावलीका अनुसार केही पदमा एकजनाको मात्रै उम्मेद्वारी परेको छ । क्वीन्सल्याण्ड राज्य संयोजक पदमा अतुल खड्का र तास्मानियाको संयोजक पदमा सुजन वाग्लेको मात्र उम्मेद्वारी परेपछि अन्तिम नामावली घोषणा भएपछि उनीहरु निर्विरोध हुनेछन् । यस्तै नारी निकुञ्ज अष्ट्रेलियाको उपसंयोजक पदमा प्रतिभा शाहको मात्रै उम्मेद्वारी छ । नारी निकुञ्जको कोषाध्यक्षमा कसैको पनि उम्मेद्वारी परेन । एनआरएन अष्ट्रेलिया नारी निकुञ्ज संयोजक पदमा रत्ना गौतम र रिज्नो अधिकारीको उम्मेद्वारी परेको छ ।
युवा संयोजक पदमा पनि दुईजनाको उम्मेद्वारी परेको भएपनि निर्वाचन आयोगले एकजनाको मात्रै नाम सार्वजनिक गरेको छ । पुकार घिमिरेको नाम सार्वजनिक गरिएको र अर्को उम्मेद्वारी दिने युवाले ईमेल पठाएर आफ्नो नाम नदिन अनुरोध गरेको प्रमुख आयुक्त ढकालले केविसीखबरलाई जानकारी दिए । “विगतमा पनि यस्तो चलन रहेछ । पारिवारिक कारणले मैले उम्मेद्वारी दिन मिलेन भनेपछि हामीले त्यसलाई होल्ड गर्ने निर्णय गरेको हौं ।” ढकालको भनाई छ ।
टण्डन थरका ति युवासँग सम्पर्क भने हुन सकेन । निर्वाचन आयोगको तालिका अनुसार भोलि १५ जुलाईको मध्यरातसम्म उम्मेद्वारहरुको योग्यता लगायतका विषयमा कुनै दावी विरोध भए तिनलाई दर्ता गर्न सकिनेछ । यसरी आएका दावी विरोध उपर छानविन पश्चात १६ जुलाईका दिन नामावली प्रकाशित गरिनेछ । त्यसपछि उम्मेद्वारहरुलाई आफ्नो उम्मेद्वारी फिर्ता लिन चाहेमा एक दिनको समय उपलब्ध गराइनेछ । यसरी समय दिइसकेपछि जुलाई १८ तारिखका दिन अन्तिम उम्मेद्वार सूचि जारी गर्ने निर्वाचन आयोगको तालिका छ ।