मेलबर्न, अष्ट्रेलिया ।
गैरआवासीय नेपाली संघले आफ्नो केन्द्रीय कार्यालयमा आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै हालसम्म करिब ८२ हजारभन्दा बढी सदस्यहरुले सदस्यता लिइसकेको जनाएको छ । पत्रकार सम्मेलनमा उपस्थित भएका अध्यक्ष डा. बद्री केसीले पत्रकारहरुको जिज्ञासाको जवाफ दिएका थिए ।
कार्यक्रमअघि तयार पारिएको प्रेस नोटलाई संस्थाकी सञ्चार अधिकृत ईन्द्रलक्ष्मी घिमिरेले वाचन गरेकी थिइन् । पत्रकार सम्मेलनमा संस्थाका पदाधिकारीहरु अध्यक्ष केसीसहित, सिईओ राजेन्द्रकुमार रावत, उपाध्यक्ष रोजिना प्रधान राई, सल्लाहकार अतुल कोइराला प्रत्यक्ष उपस्थित थिए भने अन्य पदाधिकारी अनलाईनमार्फत जोडिएका थिए ।
पत्रकार सम्मेलनमा अधिकांशको प्रश्न एनआरएनको विवाद, यसको समाधान, कानूनी पाटोमा केन्द्रित थियो । केहीले काठमाडौंको यातायात व्यवस्थापनमा एनआरएनले खेल्नसक्ने भूमिकाबारे पनि जिज्ञासा राखेका थिए । पत्रकार खगेन्द्र सापकोटाले एनआरएन अष्ट्रेलियाको निर्वाचनमा किन प्यानल नै बनाएर प्रचार भइरहँदा पनि विधान विपरितको यस्तो कार्यलाई निर्वाचन आयोगले नहेरेको भनी प्रश्न गरेका थिए । प्रश्नको जवाफ दिँदै अध्यक्ष केसीले आफुले यस बारेमा तत्कालै बुझ्ने र त्यस्तो कार्य गर्न नहुने विषयमा सजग गराउने बताएका थिए ।
पत्रकार सम्मेलनमा अध्यक्ष केसीले अर्को पक्षले एमआईएस सिष्टममा सदस्यता नलिनका लागि ठूलो अवरोध गरेका बाबजुद सदस्यमा देखिएको उत्साहले धेरै जवाफ दिइसकेको पनि दावी गरे । वर्तमान आईसीसीले गलत अभ्यासका विरुद्ध अडान लिएका कारण नै संस्था आजको अवस्थासम्म आइपुगेको अध्यक्ष केसीको भनाई थियो । उनले नेपालका राजनीतिक दलहरुलाई आगामी दिनमा एजेन्डामा बहस गर्न तर नेतृत्वका विषयमा कुनै चलखेल नगर्न आग्रह गर्ने पनि बताए ।
विभिन्न राज्य समितिहरुमा छुट्टै सदस्यता खुलाउने पनि प्रयास भएको तर यस्तो प्रयासमा कसैले साथ नदिएको अध्यक्ष केसीको भनाई छ । छुट्टै प्रसंगमा परराष्ट्र मन्त्रालयसँग सहकार्य जारी रहेको पनि अध्यक्षले स्पष्ट पारेका थिए । पत्रकार सम्मेलन करिब डेढ घण्टा चलेको थियो ।

प्रतिक्रिया