गायक राजेशपायल राईमाथि यौन हिंसाको आरोप लागेको छ । अरु कसैले नभएर राईकै पूर्वपत्नी साङबुङले यस्तो आरोप लगाएकी हुन् । नाबालिकसँग विवाह गरेर धेरै वर्ष यौनहिंसा गरेपछि बच्चा जन्मिएपछि डिभोर्स गरेर अंश दिएर छुट्टिएका गायक राईले फेरि आफ्नी श्रीमतीमाथि अमानवीय व्यवहार गरेका छन् । उनले दिएको अंशको आडमा पुनः शारीरिक सम्पर्क प्रस्ताव गर्ने, आफ्नो खुट्टा चाट भन्ने अनि रक्सी खाएर रात विरात घरमा पुग्ने काम गरेको आरोप उनकी पूर्वपत्नीको छ । नेपाल प्रेससँग गरेको कुराकानीमा उनले यस विषयमा प्रहरीमा उजुरी दिने समेत बताएकी छिन् । यतिबेला राजेश पायल राईको महिलाप्रतिको धारणा सही नभएको । उनले पूर्वपत्नीमाथि गरेको काम महिलाविरुद्धको हिंसा भएको भन्दै उनलाई कानूनी कारवाही र सामाजिक बहिष्कार गर्नुपर्ने मत बढ्दै गएको छ ।
राजेशपायल र साङबुङबीच २०८० साल चैतमा डिभोर्स भएको थियो । उनीहरुबाट एक तीन वर्षीय छोरा छन् । डिभोर्सपछि राजेशपायलले पत्नीलाई नक्सालमा रहेको घर अंशका रुपमा दिएका थिए । साङबुङ छोरासहित यही घरमा बस्दै आएकी छन् । राजेशपायल अनामनगरमा रहेको अर्को घरमा बस्छन् ।
राजेशपायल बेलाबेला छोरा भेट्नका लागि घरमा आउने गरेको साङबुङले नेपाल प्रेससँग बताइन् । अस्ति बेलुका आउँदा आफूलाई हिंसा र दुर्व्यवहार गरेको उनको भनाइ छ ।
घटनाबारे उनले नेपाल प्रेसलाई सुनाएको विवरणः
उहाँ हिजो बेलुका घरमा आउनुभयो । बेलाबेला आइराख्नुहुन्छ । कहिले बिहानै ५ बजे आउनुहुन्छ । कहिले राति ३ बजे राति आउनुहुन्छ । प्राय ड्रिङ्स गरेको हुन्छ । मेरो घरमा सीसी क्यामरा पनि छ । बच्चा भेट्न भनेर आउने भएकाले मैले छोड्दिएकै हो ।
हिजो चाहिँ मलाई निकै दुव्र्यवहार गर्यो र हात पनि हाल्यो । अनुहारभरि कोतरेको डाम छ ।
नानी सुत्न खोजिरहेको थियो । मैले उसको रुममा लिएर गएँ । उ कोठामा नांगै बसेको थियो । मलाई फिजिकलको लागि फोर्स गर्न खोज्यो । मैले मानिनँ । ‘मेरो खुट्टा चाट्’ भन्यो । त्यो पनि मानिनँ । त्यसपछि कुटपिट गर्यो । मैले बाध्य भएर प्रहरीलाई फोन गरेर बोलाएँ ।
पुलिस पनि आए । तर, जान मानेनँ । डेढ घन्टै लाग्यो होला ढोका खोल्न । उ चाबी फुटाएर निस्कियो । पुलिसले बल्लतल्ल लिएर गए । पुलिसले मलाई जाहेरी हाल्न भनेको थियो । तर मैले हालिनँ । त्यसपछि पुलिसले यत्तिकै छोड्यो ।
भोलि पर्सीतिर हाल्छु । म यत्तिकै चुप बस्दिनँ ।
प्रतिक्रिया