मेलबर्न, अष्ट्रेलिया ।
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी जुलाई २६ तारिख हुने निर्वाचनका लागि मतदाताको नामावली सार्वजनिक गरिएको छ । निर्वाचन आयोगमार्फत सार्वजनिक गरिएको विवरण अनुसार कूल मतदाता संख्या १५ हजार ५ सय ५१ जना रहेका छन् ।
जस अनुसार सबैभन्दा बढी सदस्य न्यूसाउथवेल्समा ३५ सय ४० जना, वेष्टर्न अष्ट्रेलियामा २४ सय ७८ जना, भिक्टोरियामा २६ सय ४८ जना, क्वीन्सल्याण्डमा १८ सय ७२ जना, साउथ अष्ट्रेलियामा १६ सय ५२ जना, तास्मानियामा ९ सय ५९ जना, क्यापिटल टेरेटोरी क्यानबेरामा १८ सय २७ जना, नर्दन टेरेटोरीमा ५ सय ७५ जना रहेका छन् । यस पटक न्यूसाउथवेल्स बाहेकका राज्यबाट अध्यक्ष पदको निम्ति उम्मेद्वारी दिनुपर्नेछ । दुई पटक सम्म लगातार न्यूसाउथवेल्सबाट संस्थाको मूल नेतृत्व चयन भइसकेका कारण यस्तो अवस्था आएको हो । संस्थाको विधान अनुसार लगातार दुई पटक एकै राज्यको प्रतिनिधित्व गर्दै अध्यक्ष पदमा निर्वाचित भएको अवस्थामा तेश्रो पटक त्यस बाहेकका राज्यबाट मात्र उम्मेद्वारी दिन पाउने प्रावधान छ ।
सदस्यको पूरा विवरण यहाँ हेर्नुहोस् https://nrnaelection.org.au/voters-list
निर्वाचन आयोगले जुलाई ८ तारिख राति १२ बजेसम्म सार्वजनिक गरिएका सदस्यहरुको विषयमा कुनै उजुरी भएमा उपलब्ध गराउन पनि अनुरोध गरेको छ । सामान्यतः विद्यार्थी भिसामा रहेका व्यक्तिहरु या योग्यता नपुगेका व्यक्तिहरुलाई पनि सदस्यता बनाइएको छ कि भनेर यो अवधिमा उजुरी लिने गरिन्छ । यसरी प्राप्त भएका उजुरीउपर छानविन गरी अन्तिम मतदाता नामावली सार्वजनिक गरिनेछ ।
Send your complain here – [email protected]
आयोगले यसैबीच, निर्वाचन प्रयोजनका लागि बनाइने प्रचार सामग्रीमा गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको लोगो प्रयोग गर्न समेत रोक लगाएको छ । संस्थाको नियमावली अनुसार यसरी अनधिकृत रुपमा लोगो प्रयोग गर्ने उम्मेद्वारालई चेतावनी दिइने र यस्तो चेतावनी पनि अटेर गरेमा उम्मेद्वारी नै रद्द समेत गर्नसक्ने भन्दै यस्ता सामग्री वितरण नगर्न सचेत गराएको हो ।
प्रतिक्रिया