गैरकानूनी चुरोट र सूर्ति बिक्री रोक्न कडा कानून लागू गर्दै भिक्टोरिया

गैरकानूनी चुरोट र सूर्ति बिक्री रोक्न कडा कानून लागू गर्दै भिक्टोरिया

अवैध कारोबार गरे लाखौं डलर जरिवाना



मेलबर्न, अष्ट्रेलिया ।

भिक्टोरिया राज्य सरकारले जुलाई १ तारिखबाट सूर्तिजन्य पदार्थ बिक्री सम्बन्धी कडा कानून लागू गरेको छ । आगामी एकवर्षभित्रमा सम्पूर्ण प्रक्रिया पूरा भएपछि यो कानून पूर्णत लागू हुनेछ । नयाँ कानून अनुसार गत जुलाई १ तारिखबाट नै चुरोट वा सूर्तिजन्य पदार्थ बिक्रीका लागि लाईसेन्स लिनुपर्ने प्रावधान बनाइएको छ ।

यस नयाँ नियमले सूर्तिजन्य पदार्थको खुद्रा र थोक बिक्रेताहरुलाई नियन्त्रण गर्ने उद्देश्य राखेको छ । पछिल्लो समय अवैध चुरोटको आवरणमा हिंसात्मक घटनाहरु बढ्ने र दुई समूहबीच गोली हानाहान र झडपकै अवस्था निम्तिदै आएको थियो ।

पछिल्लो समय ल्याइएको नियम अनुसार टोबाको लाइसेन्सिङ भिक्टोरिया नामक सरकारी निकाय बनाइएको छ । जसले कानून पालनाको अनुगमन गर्नेछ । लाईसेन्सविना सूर्तिजन्य पदार्थको बिक्री गरेको पाइएमा व्यक्तिको हकमा ८ सय ४० पेनाल्टी युनिट अर्थात् १ लाख ६६ हजार डलर जरिवाना र ५ वर्षसम्मको काराबार सजाय तोकिएको छ ।

त्यस्तै कुनै व्यवसायिक संस्थाले कारोबार गरेको छ भने ४२ सय पेनाल्टी युनिट अर्थात् ८ लाख ३० हजारसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । सरकारले नयाँ नियमनकारी संरचनाको लागि ४६ मिलियन डलरको बजेट छुट्याएको छ । कुनैपनि बिक्रेताले सूर्तिजन्य पदार्थको बिक्री सम्बन्धी कारोबार गर्न चाहेमा आवेदन दिनुपर्ने र त्यसअघि कडा सुरक्षा चेकजाँच पूरा गर्नुपर्ने प्रावधान छ ।