चेपाङ विद्यार्थीलाई नेपाल ट्युबको शैक्षिक सामग्री

चेपाङ विद्यार्थीलाई नेपाल ट्युबको शैक्षिक सामग्री


काठमाडौं, नेपाल ।

ट्युब अस्ट्रेलियाले धादिङ, बेनिघाट गाउँपालिका वडा नम्बर १० स्थित कोश्राङ आधारभूत विद्यालयका चेपाङ विद्यार्थीलाई छात्रवृत्तिसहित शैक्षिक सामग्री वितरण गरेको छ । असार ६ गते (शुक्रबार) आयोजित एक समारोहकाबीच नेपाल ट्युबको तर्फबाट एक्सन नेपालले शैक्षिक सामाग्री वितरण गरेको हो ।

विद्यालय व्यस्थापन समितिका अध्यक्ष तथा वडा सदस्य सूर्यमान चेपाङ र विद्यालयका प्राध्यानाध्यापक सुशीलराज गिरीको उपस्थितिमा छात्रवृत्तिसहित शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो । नेपाल ट्युबले आफ्नो सामाजिक सञ्जाल (फेसबुक, टिकटक र युट्युब) मा २० लाख भन्दा बढी फलोअर्स पुगेको अवसरमा लाखौंमा एक’ ( वान इन मिलियन) छात्रवृत्ति अभियान ल्याएको हो । नेपाल ट्युबले एक्सन नेपालको सहकार्यमा उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । नेपाल ट्युब अष्ट्रेलियामा संचालित मल्टिमिडिया ल्पेटफर्म हो ।

नेपालट्युबले विगत ८ वर्षदेखि देश विदेशमा रहेका नेपाल र नेपालीसंग सम्बन्धित सुचना, जानकारी र शिक्षामुलक सामाग्रीहरु प्रशारण र प्रकाशन गर्दै आईरहेको छ । यो विद्यालयमा कक्षा पाँचसम्म अध्यापन हुँदै आएको छ । सो विद्यालयमा ६३ जना विद्यार्थी पढ्दै आएका छन् । जसमा ५८ जना चेपाङ समुदायका विद्यार्थी रहेका छन् । नेपाल ट्युब र एक्सन नेपालको यस सहयोगले चेपाङ समुदायको बालबालिकालाई पढाईमा सहयोग पुग्ने विद्यालयका प्राध्यानाध्यापक सुशीलराज गिरीले बताउनुभयो । ‘यस विद्यालयमा कमजोर आर्थिक अवस्था भएका परिवारका बालबालिका पढन् आउँछन्,’ उहाँले भन्नुभयो, ‘यस सहयोगले चेपाङ बालबालिका पढाईबाट बञ्चित हुने छैनन् ।’

शैक्षिक गुणस्तरमा थप टेवा दिन नेपाल ट्युबले विद्यार्थीहरुलाई ब्याग, कापी, कलमलगायत सामग्री वितरण गरेको हो । यस सहयोगले चेपाङ बालबालिकालाई पढ्न प्रोत्साहन मिलेको व्यवस्थापन समितिका अध्यक्ष सूर्यमान चेपाङले बताउनुभयो । ‘चेपाङ बालबालिका शिक्षित हुनुपर्छ भन्दै यहाँहरुले गर्नुभएको सहयोग र अभियानप्रति हाम्रो समर्थन छ,’ उहाँले भन्नुभयो । नेपाल ट्युब र एक्सन नेपालले प्रति विद्यार्थीलाई एक थान झोला, ३६ थान कापी, एक दर्जन पेन्सिल, एक थान क्याल्कुलेटर, एक थान ज्यामिती बक्स, एक दर्जन रंगिन पेन्सिल, एक थान आर्ट कापी र दुई दर्जन सिसाकलम प्रदान गरेको छ ।

यस अवसरमा एक्सन नेपालका कार्यकारी निर्देशक कमल ढुंगानाले नेपाल ट्युबसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । ‘हामीले यसअघि पनि विभिन्न सहयोग गर्दै आएका छौं,’ उहाँ भन्नुहुन्छ, ‘तर नेपाल ट्युबको यस अभियानसँग जोडिएर सहकार्य गर्न पाउँदा एकदमै खुसी लागेको छ ।’ यस किसिमको सहयोगले बालबालिकालाई हौसला मिल्ने उहाँको विश्वास छ । ‘लाखौंमा एक’ अभियान नेपाल ट्युबप्रति समर्पित लाखौं दर्शकलाई सम्मान गर्ने उत्सवको माध्यम रहेको नेपाल ट्युबका प्रधान सम्पादक सरल गुरुङले बताउनुभयो । ‘नेपाल ट्युबले यही समाज र नेपाली जनताको मायाले गर्दा विदेशमा बसेर मिडिया सञ्चालन गर्न सकेका छौं । केही आम्दानी गर्न सकेका छौं,’ उहाँले भन्नुभयो, ‘त्यसैले आफूले कमाएको केही रकम दुःख र अप्ठ्यारोमा परेका नेपाली समाजलाई दिने हाम्रो उद्देश्य हो ।’ त्यतिमात्र नभई यो अभियानले प्रत्येक विद्यार्थीमा अद्वितीय क्षमता हुने र उनीहरु नै ‘लाखौंमध्ये एक’ रहेको गुरुङले सुनाउनुभयो ।

‘दर्शकले नै हामीलाई यहाँसम्म साथ दिँदै आउनुभएको छ,’ उहाँ भन्नुहुन्छ, ‘धादिङका यी बालबालिकाहरु देशको लागि आशा र भविष्य हुन् । त्यसैले उहाँहरु नै हाम्रो लागि लाखौंमा एक हो ।’ नेपाल ट्युबको यो कदम सामाजिक प्रभाव, शिक्षा र समुदायसँगको सम्बन्धप्रति निरन्तर प्रतिबद्धताको प्रतिक रहेको उहाँले बताउनुभयो । यसले डिजिटल प्लेटफर्मले वास्तविक जीवनमा परिवर्तन ल्याउन सक्ने सम्भावना राखेको उहाँको भनाई छ । नेपाल ट्युबले देश तथा विदेशमा भएका विद्यार्थीका लागि छात्रवृत्तिको अवसर प्रदान गरिरहेको छ । सन् २०२३ मा नेपाल ट्युबले अष्ट्रेलियाको टेक स्किल इस्टिच्युटसँगको सहकार्यमा ‘न्यु अबिलिटी’ छात्रवृत्ति ल्याएको थियो ।

जसअन्तर्गत अस्ट्रेलियामा आईटी पढिरहेका ८ जना विद्यार्थीलाई ४० हजार अस्ट्रेलियन डलर बराबरको छात्रवृत्ति प्रदान गरेको थियो । यसैगरी २०२४ मा नेपालका हिमाल, पहाड र तराईका ६ जना क्रिकेटरलाई छात्रवृत्ति प्रदान गरेको थियो । किक्रेट एक्सिलेन्सी सेन्टरसँगको सहकार्यमा नेपाल ट्युबले प्रोफेसनल क्रिकेट तालिमका लागि छात्रवृत्ति प्रदान गरेको हो । यति मात्र नभई नेपाल ट्युबले गत वर्ष विभिन्न परोपकारी पहलमार्फत झण्डै ३ लाख अस्ट्रेलियन डलर योगदान गरिसकेको छ ।