तास्मानियन नेपाली क्रिकेट संघको नेतृत्वमा पुनः कमल भण्डारी निर्वाचित, ११ सदस्यीय कार्यसमिति

तास्मानियन नेपाली क्रिकेट संघको नेतृत्वमा पुनः कमल भण्डारी निर्वाचित, ११ सदस्यीय कार्यसमिति



तास्मानिया । तस्मानियन नेपाली क्रिकेट संघ टीएनसीएको पाँचौँ वार्षिक साधारणसभाले अध्यक्ष कमल भण्डारीकै नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । क्लेयरमोन्टस्थित सामुदायिक हलमा भएको अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति पनि निर्विरोध रूपमा चयन गरेको हो ।

प्रमुख निर्वाचन अधिकृत गोपाल न्यौपाने र सदस्यहरु खगेन्द्र सत्यााल, तोयराज भट्टराईले सर्वसम्मत चयन भएको कार्यसमितिलाई सपथ दिलाएका थिए ।

नयाँ कार्यसमिति उपाध्यक्षमा प्रज्वल ढकाल, सचिवमा पुनम भट्टराई, कोषाध्यक्षमा अञ्जन खड्का, जनसम्पर्क अधिकृतमा मिलन पौडेल चयन भएका छन् । कार्यसमिति सदस्यहरूमा सुजन ढुंगेल, अनिश सागर साह, उज्वल अधिकारी र रोहित बस्नेत चयन भए भने बाँकी दुई सदस्यहरू पहिलो कार्यसमिति बैठकबाट मनोनीत गर्ने तयारी छ ।

साधारणसभा अघि आयोजना गरिएको सम्मान समारोहमा वर्षभर तस्मानियन नेपाली क्रिकेट संघ मार्फत क्रिकेट खेल तथा सामुदायिक योगदानमा विशेष भूमिका निर्वाह गर्ने व्यक्तित्वहरूलाई सम्मान गरियो। यस वर्षदेखि सुरु गरिएको अध्यक्ष पुरस्कार कार्यक्रमअन्तर्गत टीएनसीए स्टार अवार्ड’ मिलन पौडेललाई, इमर्जिङ लिडरशिप अवार्ड पुनम भट्टराईलाई र ‘प्रेसिडेन्सियल अवार्ड’ विकास सेढाईलाई प्रदान गरियो।

त्यसका साथै ओसिनिया स्पोर्ट्स मिटमा तस्मानियाबाट प्रतिनिधित्व गर्दै स्वर्ण पदक जित्ने खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो। तास्मानियन नेप्लीज प्रिमियर लिग क्रिकेट प्रतियोगिताका फ्रेन्चाइज मालिकहरू, वर्षभर कार्यक्रमहरूमा सहयोग पुर्‍याउने स्वयंसेवकहरू, महिला क्रिकेट टोली, जुनियर ब्लास्टर्स तथा प्रमुख प्रायोजकहरूलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा तस्मानिया लेबर पार्टीका सांसद इला हद्दाद र जोश विली, युनिभर्सिटी अफ तस्मानिया क्रिकेट क्लबका अध्यक्ष, अष्ट्रेलियन मल्टिकल्चरल काउन्सिलकी आइमेन जाफ्री, टाइटल स्पोन्सर ग्रेस तस्मानियाका निर्देशक बिकेन्द्र सापकोटा र राजकिरण अधिकारी, नेप्लीज सोसाईटी अफ तास्मानियाकी अध्यक्ष रोजिना ताम्राकार, नेप्लीज तास्मानियन स्पोर्टस एशोसिएसनका अध्यक्ष विष्णु सापकोटा, टीएनसीएका सल्लाहकार प्रकाश उप्रेती र पुनम पन्त, एमकट बोर्ड सदस्य संसारराज चिमोरिया लगायत विभिन्न संघसंस्था तथा समुदाय प्रतिनिधिहरू, खेलाडीहरू र अतिथिहरूको उपस्थिति रहेको थियो।

साधारणसभामा अध्यक्षको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरियो, जसलाई उपस्थित सदस्यहरूले अनुमोदन गरेका थिए ।

साधारणसभामा अध्यक्ष कमल भण्डारीले आगामी कार्यकाललाई अझ व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले “ग्रान्ट समिति” र “टास्क फोर्स” गठन गरी विशेष कार्यहरू सञ्चालन गरिने बताए । उनले संस्थालाई दीर्घकालीन विकास र पेशागत प्रगतिको दिशामा लैजान यी संरचनाहरू महत्वपूर्ण हुने धारणा राखेका थिए ।

तस्मानियन नेपाली क्रिकेट संघ सन् २०१९ मा स्थापना गरिएको एक गैरनाफामुखी संस्था हो। यस संस्थाले तस्मानियामा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरूलाई क्रिकेट खेलमार्फत एकताबद्ध बनाउने प्रयास गर्दै आएको छ ।