भिक्टोरियाका विपक्षी नेताको बहुसांस्कृतिक सञ्चारकर्मीसँग खुला सम्वाद !

भिक्टोरियाका विपक्षी नेताको बहुसांस्कृतिक सञ्चारकर्मीसँग खुला सम्वाद !


मेलबर्न, अष्ट्रेलिया ।
भिक्टोरियाका विपक्षी दल लिबरल पार्टीका नेता ब्राड बाटिनले यहाँको संसदमा बहुसांस्कृतिक समूदायका सञ्चारकर्मीहरुसँग खुला बहस आयोजना गरेका छन् । ४० जनाभन्दा बढी सञ्चारकर्मीहरुको उपस्थितिमा भएको कार्यक्रममा बोल्दै नेता बाटिनले सीमान्तकृत समूदायका कुराहरु सुन्नका लागि यस्तो कार्यक्रम आयोजना गरिएको बताए । उनले पछिल्लो समय भिक्टोरियामा बढ्दै गएको हिंसात्मक घटनाहरुबारे चिन्ता व्यक्त गरे । गत चुनावमा आएको नतिजाको कारण के होला ? भन्ने केविसीखबरको जिज्ञासामा जवाफ दिँदै उनले नयाँ समूदायसँगको भेटघाटलाई बढाउन नसक्नु, विपक्षीहरुले लगाएको आरोपहरुलाई चिर्न नसक्नु लगायतका कारणहरु हुनसक्ने बताए ।
कार्यक्रममा बहुसांस्कृतिक समूदायका बालबालिकाहरुको लागि उनीहरुको मातृभाषा विद्यालय स्थापना र प्रबद्र्धनमा के योजना छन् भन्ने प्रश्नको जवाफ बहुसांकृतिक छायाँ मन्त्री ईभान मुलहोलान्डले आफ्नो पार्टी सबै समूदायलाई माथिल्लो तहसम्म जान सहयोग गर्न तयार रहेको बताए । उनले जहाँ जहाँ जनसंख्याका आधारमा बलियो उपस्थिति रहेका ठाउँमा ति समूदायको मातृभाषालाई प्रोत्साहन गर्न कसर बाँकी नराखिने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा बोल्दै भिक्टोरियामा विपक्षी पार्टीका उपनेता साम ग्रोथले बहुसांस्कृतिक समूदायका कार्यक्रमहरुमा सहभागी भएको स्मरण गर्दै आउने १८ महिनामा वास्तविक रुपमा बहुसांस्कृतिक समूदायका सञ्चारकर्मीहरुसँगको सहकार्यका माध्यमबाट ति समूदायको आवाज सुन्न र उनीहरुका समस्याहरुमा सहयोगी बन्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरुले विभिन्न प्रश्न गरेका थिए । अधिकांश सञ्चारकर्मीले पछिल्लो समय बढ्दो असुरक्षाका घटनाहरुका विषयमा लिबरल पार्टीको धारणा र समाधानको उपाय के हुन्छ भनी प्रश्न गरेका थिए ।

कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरुलाई वरिष्ठ बहुसांस्कृतिक सल्लाहकार पिटा रिडले स्वागत गरेकी थिइन् ।