बहुसांस्कृतिक केन्द्र बनाउन अगष्ट २९ देखि ‘सिड्नी अध्यात्मिक महोत्सव’ हुँदै, दिनबन्धु पोखरेल आउने !

बहुसांस्कृतिक केन्द्र बनाउन अगष्ट २९ देखि ‘सिड्नी अध्यात्मिक महोत्सव’ हुँदै, दिनबन्धु पोखरेल आउने !


सिड्नी, अष्ट्रेलिया ।

ग्रेटर सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि आगामी अगष्ट २९ देखि ३१ तारिखसम्म सिड्नीमा आध्यात्मिक महोत्सव २०२५ आयोजना हुने भएको छ । यस सम्बन्धी जानकारी केन्द्रको तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा गराइएको हो । मेरिल्यान्ड्समा रहेको बार्दली फंक्सन सेन्टरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महोत्सवमा प्रमुख अतिथिको रुपमा नेपालबाट दिनबन्धु पोखरेल सहभागी हुनेछन् । सिड्नीका बौद्ध लामा गुरुहरु पनि उपस्थित रहने तय भएको छ ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष विष्णु हमालले बहुसांस्कृतिक केन्द्र निर्माणको मेरुदण्ड नै आजीवन सदस्यहरु हुने भएकोले पारिवारिक आजीवन सदस्यता लिइदिन अनुरोध गरेका थिए । यस्तै व्यवसायीहरुले आफ्नो क्षमता अनुसार प्रायोजन गरी यो सत्कार्यमा साथ दिनसक्ने पनि हमालले जानकारी दिएका थिए । हमालका अनुसार हालसम्म मार्क क्यू होम्सले मुख्य प्रायोजन गर्ने, अजी फाईनान्स एण्ड होम लोन्स र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले प्लाटिनम प्रायोजन गर्ने तय भएको छ ।

उक्त अवसरमा महोत्सवको उद्देश्य, हालसम्म भएको प्रगति विवरण र आगामी दिनका कार्यक्रमहरुका बारेमा पनि जानकारी दिइएको थियो ।

आध्यात्मिक महोत्सवको पहिलो दिन कलश यात्राबाट सुरु हुने छ। सिड्नीमा रहेका महिला दिदिबहिनिहरुको सहभागिता सहितको कलश यात्राको संयोजन बहुसांस्कृति केन्द्रकी सचिव मीना शर्माले गर्नेछिन् । १००८ कलश सहितको यात्रामा सहभागी हुनका लागि दर्ता खुल्ला गरिएको छ । कार्यक्रममा सचिव शर्माले कलश यात्रा सिड्नीमा नेपाली सामुदायिक केन्द्र निर्माण गर्ने एउटा दृढ संकल्प सहितको एउटा सामुहिक र पबित्र यात्रा भएकोले यसमा सहभागिताका लागि आह्वान गरेकी छिन् ।

यो सम्पूर्ण नेपालीले अपनत्व महशूस गर्ने बहुसांस्कृतिक केन्द्र हो जुन हाम्रो आगामी पुस्ताले आफ्ना अग्रजले गरेको सुकर्मका रुपमा सगौरव पुस्तान्तरण गरिएको अमूल्य चिनोको रुपमा ग्रहण गर्नेछन्। र समयको गति संगै यसमा अरु बिस्तार गर्दै र परिष्कृत बनाउदै जाने छन् ।

संस्थाका महासचिव डाक्टर प्रकाश पौडेलले सञ्चालन गरेको अन्तरक्रियात्मक पत्रकार सम्मेलनमा अध्यक्ष बिष्णु हमाल, उपाध्यक्ष उमेश पन्तलगायत पदाधिकारीले जिज्ञासाको जवाफ दिएका थिए ।