सिड्नी, अष्ट्रेलिया ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले सिड्नी र मेलबर्नका नेपालीसँग अन्तरक्रिया गर्ने भएका छन् । आगामी जुन २१ र २२ तारिख अन्तरक्रिया कार्यक्रम राखिएको जानकारी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवासी संस्था प्रवास नेपाली सम्पर्क विभागले दिएको छ । विभागको न्यूसाउथवेल्स च्याप्टरका सचिव सूर्य न्यौपानेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको तेश्रो वार्षिकोत्सवका अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।
शुभकामना आदान प्रदानका साथै प्रवासी नेपालीहरुको विचार सुन्ने र नेपालको हालको राजनीतिक स्थितिको बारेमा जानकारी दिने उद्देश्य छ ।
आयोजकले दिएको जानकारी अनुसार सिड्नीको मेरिल्याड्स स्थित दि हिमालयन ग्रिल एण्ड बारमा २१ जुन शनिबार विहान १० बजेदेखि कार्यक्रम हुनेछ । मेलबर्नको कार्यक्रमस्थल तय गर्ने चरणमा रहेको जानकारी पनि न्यौपानेले केविसीखबरलाई दिए ।
काठमाडौं क्षेत्र नम्बर ७ का सांसद पराजुली हाल अष्ट्रेलिया भ्रमणमा छन् । निर्यात व्यवसायी समेत रहेका सांसद पराजुली सिड्नीमा १७ तारिखबाट दुई दिनसम्म चल्ने गार्मेन्ट एशोसिएसनको प्रदर्शनीमा सहभागी हुन आएका हुन् । उनी मेलबर्नको कार्यक्रमपछि क्यानबेरा हुँदै २४ तारिख नेपाल फर्किने बताइएको छ ।

प्रतिक्रिया