अष्ट्रेलियाको मेलबर्नमा पनि अब ईन्द्रजात्रा मनाइने, तयारी सुरु

अष्ट्रेलियाको मेलबर्नमा पनि अब ईन्द्रजात्रा मनाइने, तयारी सुरु


मेलबर्न, अष्ट्रेलिया ।

नेपालीहरुको बसोबास गर्ने संख्याका दृष्टिले अष्ट्रेलियाको दोश्रो ठूलो शहर मेलबर्नमा ईन्द्रजात्रा आयोजना गरिने भएको छ । नेपालीहरुको बसोबास बढ्दै जाँदा पहिलो पटक ईन्द्रजात्राको ऐतिहासिक आयोजनाको तयारी भएको हो । यस सम्बन्धमा समूदायसँग अन्तरक्रिया र जानकारी सार्वजनिक गर्न शनिबार मेलबर्नको ग्लेनरोयमा रहेको नेपाली वाणिज्यदूतको कार्यालयमा एक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा गुठीका पदाधिकारीहरु उपस्थित थिए । कार्यक्रममा दिइएको जानकारी अनुसार आगामी सेप्टेम्बर ६ तारिख शनिबार ईन्द्रजात्रा अष्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर एएनएमसीको परिसरमा गरिनेछ ।

काठमाडौंमा जस्तै ईन्द्रजात्राको दिन कुमारीको रथ यात्रा गर्ने तयारी छ, यस्तै लाखे नाच, पुलुकिसी नाच, धिमे, बाँसुरी लगायत विभिन्न नेवा संगीतका बाजा र नृत्यहरुको झाँकी प्रदर्शन गर्ने तयारी गरिएको आयोजक नेवा गुठी मेलबर्नका तर्फबाट रन्जन वैद्यले उपस्थितलाई जानकारी दिएका थिए ।

कार्यक्रममा उठेका विभिन्न जिज्ञासाको जवाफ आयोजकमध्येकै राजन मास्के, सुरेश महर्जन, सिमोन डंगोल, नेवा गुठी मेलबर्नका अध्यक्ष माया सुवाल, रोसलिन महर्जन, सञ्जीव श्रेष्ठ लगायतले दिएका थिए । कार्यक्रममा बोल्दै भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौलीले ईन्द्रजात्रालाई सम्पूर्ण नेपालीको चाडको रुपमा मनाउने कार्यमा आफ्नो पूर्ण सहयोग र साथ रहने प्रतिबद्धता जनाएका थिए । उनले मेलबर्नमा मनाइने ईन्द्रजात्राले नेपालको पर्यटन प्रबद्र्धनमा समेत टेवा दिने आशा व्यक्त गरे ।

ईन्द्र जात्रालाई भव्यताका साथ मनाउनका लागि नेवा पुचः मेलबर्न, बाजा खलः मेलबर्न, मिसा पुचः मेलबर्नको सहकार्य हुनेछ । यस्तै नेपाली दूतावास, वाणिज्यदूतको कार्यालय, अष्ट्रेलिया नेपाल बहुसांस्कृतिक केन्द्र, नेप्लीज एशोसिएसन अफ भिक्टारिया, एनआरएन भिक्टोरिया, दिदी बहिनी समाज लगायतले सहयोग गर्ने भएका छन् ।

जात्राको तयारी अन्तर्गत यतिबेला कुमारी रथ निर्माणको कार्य अघि बढेको छ भने जात्रामा हुने विविध गतिविधिमा चाहिने सरकारी स्वीकृतिहरु लिने कार्य अघि बढेको बताइएको थियो । अष्ट्रेलियाको सिड्नी, एडिलेड लगायतका शहरमा यसअघि नै ईन्द्रजात्रा मनाइने गरिएको छ । मेलबर्नमा हुने ईन्द्रजात्रालाई नेपालकै झल्को दिनेगरी भव्यताका साथ आयोजना गर्ने तयारी छ ।