काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं हिन्दू धर्म संस्कृति बचाउ अभियानका उपसंयोजक धवलशमशेर राणालाई धरौटीमा छाड्न आदेश भएको छ । दुर्गा प्रसाईंले सञ्चालन गरेको अभियानलाई आर्थिक श्रोत जुटाउन समेत भूमिका निर्वाह गरेको आरोप लाग्दै आएका राणा यसअघि जमानीमा उपचारका लागि छुटे पनि प्रहरीको सम्पर्क बाहिर थिए । उनलाई अदालतमा खोजेका बखत उपस्थित नभएपछि ५० हजार जरिवाना गरिएको थियो । आफैं अदालतमा आउने वित्तिकै उनलाई बयान गराइएको थियो । यसैक्रममा सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।
राणा सोमबार बिहानै अदालतमा उपस्थित भएपछि आजै उनको बयान गरिएको थियो । २०८१ चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी राणाविरुद्ध राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दामा अभियोजन गरिएको थियो ।
राणालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजायको मागदावी लिइएको थियो । यसअघि प्रहरीले अनुसन्धान पूरा गरेर उनलाई हाजिर जमानीमा रिहा गरेको थियो । उपचारका लागि रिहा भएका राणा मुद्दा दायर भएपछि सम्पर्कबिहीन थिए ।
राणा आज आफैँ अदालतमा उपस्थित भएकोमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र अझै सम्पर्कबाहिर छन् । यसअघि तीनकुने घटनामा अदालतले ३२ जनालाई धरौटीमा छाड्दै दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षको लागि थुनामा पठाएको थियो ।
प्रतिक्रिया