एनआरएन अष्ट्रेलियाको सदस्य आवेदन १७ हजार, अध्यक्ष पोखरेलले दिए धन्यवाद 

एनआरएन अष्ट्रेलियाको सदस्य आवेदन १७ हजार, अध्यक्ष पोखरेलले दिए धन्यवाद 

विवादबीच एनआरएन अष्ट्रेलियाको ऐतिहासिक सफलता


मेलबर्न, अष्ट्रेलिया । 

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको सदस्यता आवेदन दिने अवधि आईतबार मध्यरात समाप्त हुँदै गर्दा आवेदक संख्या १६ हजार २७ पुगेको छ । जसमध्ये १० हजार सदस्यको सदस्यता स्वीकृत नै भइसकेको छ भने ५ हजार १ सय ९९ जनाको स्वीकृत हुने चरणमा छ । यो संख्यामा कूल १५ सय ६८ जना आजीवन सदस्यमध्ये ५० प्रतिशत मात्रैले विवरण अद्यावधिक गरेको अवस्थामा कूल सदस्य संख्या १७ हजार ७५ पुग्नेछ । यसमा सदस्यता शुल्क तिरिसकेका तर कागजपत्र अपलोड गर्न छुटेका या गलत कागजात अपलोड गरेकाहरुलाई अद्यावधिक गर्न दिइने २ सय ६४ संख्या पनि जोडिएको छ । 

समग्रमा आईसीसीमा देखिएको अन्योलका कारण सदस्यता घट्ने आंकलनलाई गलत सावित गर्दै एनआरएन अष्ट्रेलियाले ऐतिहासिक रुपमा सदस्य संख्या कायम राख्न सफल भएको छ । एनआरएनका ठूला एनसीसीमा अष्ट्रेलियासँगै, जपान, अमेरिका, बेलायत पर्दछन् । 

एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले केविसीखबरसँग कुरा गर्दै यो उत्साह एनआरएन अष्ट्रेलियाले गर्दै आएका कामहरुलाई समूदायले नजिकबाट हेरिरहेको छ भन्ने प्रमाण भएको बताए । उनले आईसीसीमा रहेका विविध चुनौतीका बाबजुद यो नतिजा अपेक्षा गरेभन्दा उत्साहजनक भएको प्रतिक्रिया दिए । उनले भने –  “अष्ट्रेलियामा रहेका सबै नेपालीहरुलाई म र सम्पूर्ण एनआरएन अष्ट्रेलियाको कार्यसमितिकै तर्फबाट धन्यवाद दिन चाहन्छु । आगामी दिनमा सबैलाई सँगै लैजानका लागि हामी हातेमालो गर्छौं । अष्ट्रेलियाको राजनीतिक वृत्तमा या यहाँको काउन्सिलहरुमा हामी जाँदै गर्दा १६ हजार प्लस रजिष्टर्ड मेम्बर्स हुनुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा समूदायलाई धेरै नै सहयोग हुन्छ । यो महत्वपूर्ण हो ।”

अध्यक्ष पोखरेलका अनुसार सदस्यता नवीकरण र आवेदन सुरुको दुई साता विस्तारै अघि बढेको थियो । करिब १५ सयदेखि २ हजार मात्र पुगेको सदस्यता चौथो र पाचौं सातामा आइपुग्दा ६ हजार पुगेको थियो । तर, केविसीखबरमा अर्को एनआरएनए अष्ट्रेलिया लिमिटेड खुल्यो भन्ने समाचार सार्वजनिक भएपछि तीन चार दिन सदस्य बन्ने क्रम न्यून रह्यो । पोखरेल अनुमान गर्छन् – “हामीले १० दिन समय थप गरेका कारण या लंग विकेन्ड भएका कारण पनि हुनसक्छ । तर, त्यो अवस्थाले अलिकति तनाव त दियो नै । त्यसपछि सबै समूदायका स्टेक होल्डर्ससँग कुराकानी गरेको थिएँ । लगत्तै केविसीखबरबाटै महेश श्रेष्ठजीको भनाई सार्वजनिक भयो ‘एनसीसी फुटाउनु हुँदैन’ भन्ने । त्यसपछि फेरि सदस्यता नवीकरण र आवेदनले निरन्तरता लियो र अन्तिम ३ दिन मा लगभग ६,७ हजारबाट १६, १७ हजार पुग्यो ।”

एनआरएन अष्ट्रेलियाले सदस्यता शुल्क बुझाइसकेका तर आवश्यक कागजात आइनसकेका व्यक्तिहरु र आजीवन सदस्यता लिएकाहरु तर हालसम्म अद्यावधिक नगरिएकाहरुलाई एक साताको समय दिने निर्णय गरेको छ । उनीहरुलाई ईमेलमार्फत सम्पर्क गरी नवीकरणका लागि पत्राचार गरिनेछ । 

यसैबीच, एनआरएन आईसीसीका उपाध्यक्ष डा। विनोद श्रेष्ठ र सचिव डा। ज्ञानेन्द्र रेग्मीले एनआरएन अष्ट्रेलियाको यो सफलतालाई ऐतिहासिक भन्दै प्रशंसा गरेका छन् । उनीहरुले योग्यता नपुगेका व्यक्ति सदस्य बनेको थाहा भए त्यसका विरुद्ध उजुरी गर्न सकिने र कति सदस्य भए पारदर्शी रुपमा हेर्न सकिने भन्दै लिंक पनि शेयर गरेका छन् । 
अहिलेसम्म विश्वभर एमआईएस सिष्टममार्फत कति सदस्य भए त्यसको विवरण यहाँ हेर्न सक्नुहुन्छ । >

https://members.nrna.org/member-list