एनआरएन अष्ट्रेलियामा दबाब, ४८ घण्टे अल्टिमेटलाई टेरेन एनसीसीले !

एनआरएन अष्ट्रेलियामा दबाब, ४८ घण्टे अल्टिमेटलाई टेरेन एनसीसीले !

१२ हजार कट्यो सदस्यता आवेदन, आजीवन सदस्यहरु लगायतले विवरण अपेडट गर्न अर्को एक साताको समय पाउने


मेलबर्न, अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आसन्न निर्वाचनलाई नै प्रभावित पार्नसक्नेगरी अर्को संस्था दर्ता भएपछि बढेको विवाद महेश श्रेष्ठ नेतृत्वको आईसीसीका महासचिव भनिएका वीआर लामाले पठाएको सम्झौतापत्र र त्यसमा दिइएको ४८ घण्टे अल्टिमेटमपछि झन् नयाँ मोडमा पुगेको छ । दुबै पक्षले सहमतिको कुरा गरेपनि आफ्नो अडान भने छाडेका छैनन् ।

दिइएको ४८ घण्टाभित्र एनआरएन अष्टेलियाले सहमतिपत्र हस्ताक्षर गर्ने त परको कुरा त्यसमा प्रतियुत्तर पनि दिएको छैन ।

यसअघि एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले १२ जुनमा एक विज्ञप्ति निकाल्दै आफुहरु नियमित प्रक्रिया अन्तर्गत चुनाव र अधिवेशनमार्फत नयाँ नेतृत्व चयनको क्रममा रहेको कारण आईसीसीको विवादसँग नजोड्न अनुरोध गरेका थिए । उनले महेश श्रेष्ठको एनआरएनको माग बमोजिम आगामी अदालती निर्णयलाई मान्ने र कुनै पक्षमा नलागी तटस्थ रहने प्रतिबद्धता जो जससँग सम्बन्धित छ नामक विज्ञप्ति मार्फत जनाएका थिए । तर, त्यस्तो प्रतिबद्धता जनाएको केही घण्टामा नै अर्को बिस्फोटक ईमेल एनसीसीहरुले प्राप्त गरेपछि सहमतिको वातावरण धमिलिएको थियो ।

पत्रमा बद्री केसी नेतृत्वको आईसीसीलाई एकता अधिवेशन मार्फत बनेको महेश श्रेष्ठ नेतृत्वको आईसीसीले विस्थापित गरेको भन्ने खाले भान दिन खोजिएको छ । विरोधाभाषपूर्ण तरिकाले एकता अधिवेशनपछि फेरि एकता र सहकार्यको लागि आफुहरुको पहल भइरहेको दावी पनि गरिएको छ । यी दुई कुरामा या त अहिलेको एकताको, सहकार्यको दावी गलत हो या त अघिल्लो पटक भएको अधिवेशन एकताको थिएन भन्ने कुरा एउटा बच्चाले पनि बुझ्ने विषय छ । तर, निरन्तर एनआरएन अष्ट्रेलियामा दबाब बढाउँदै सामाजिक सञ्जालमा गाली गलौज र हल्लाखल्ला गर्न सुरु गरेकाहरु १४ तारिखको विहान १ बजेको (नेपाली समय अनुसार) अल्टिमेटम सकिएपछि आमने सामने भएका छन् ।

यो हेर्नुहोस् पत्रमा, ( यदि सहमति हस्ताक्षर नगरे एनसीसीलाई वैधानिकता नदिने भनिएको छ ।)

तर, यहाँ एनसीसीहरुलाई वैधानिकता दिने विवादित आईसीसीले हैन, एनसीसीहरुले दिएको साथ र सहयोगका आधारमा चाहीँ वैधानिक एनसीसी कुन हो भन्ने खुल्नेअवस्था छ । अथवा अदालतले यसलाई टुंगाएको अवस्थामा मात्र मुद्दा किनारा लाग्नेछ ।

सार्वजनिक रुपमा एनआरएन अष्ट्रेलियाले विज्ञप्ति निकाल्नु अघि, महेश श्रेष्ठ समूहका क्षेत्रीय संयोजक एर्साद अहमदले वार्ता र सम्वाद गरौं भन्दै एउटा ईमल अष्ट्रेलियामा रहेका सबै संघसंस्था, एनआरएनका अगुवाहरु र पत्रकारलाई पठाएका थिए । उक्त इमेलमा आफुले पद नै उल्लेख नगरी आजीवन सदस्य र पूर्व युवा संयोजकको रुपमा सहमति र सम्वादका लागि आह्वान गरेको उनले बताएका थिए ।

तर, तथ्यहरुले अहमद नै अहिले अष्ट्रेलियामा नयाँ एनआरएन अष्ट्रेलिया लिमिटेड दर्ता गर्ने कार्यको नेतृत्वकर्ता भएको देखाएको छ ।
केविसीखबरसँग रहेको प्रमाणले शाक्य, वन्त र सुवेदी थरका तीनजनाको नाममा एनआरएन अष्ट्रेलिया कम्पनी लिमिटेड दर्ता भएको पाइएको छ । यति मात्र होइन, संस्थाको कार्यालय एभरेष्ट ट्राभल्सको कार्यालय एउटै छ । एभरेष्ट ट्राभल्स अहमदले सञ्चालन गरेको कम्पनी हो । यो रकडेलमा रहेको छ ।

१२ हजार कट्यो सदस्यता आवेदन

यसैबीच, एनआरएन अष्ट्रेलियाको सदस्यता नवीकरण गर्न र लिन थपिएको समयावधि आईतबार सकिँदैछ । आईतबार मध्यरातमा नयाँ र नवीकरणको अवधि सकिएपनि आवेदन दिइसकेकाहरु, आजीवन सदस्यहरु लगायतले आफ्नो विवरण अपेडट गर्न अर्को एक साताको समय पाउने अध्यक्ष अनिल पोखरेलले बताए । उनले जनशक्तिको अभावका कारण कैयौं राज्य संयोजकहरुले आएका आवेदनलाई हेर्न समेत नभ्याएको र आईतबारपछि विशेष व्यवस्था गरेर भएपनि यसलाई टुंगो लगाइने बताएका छन् । “सबै स्वयंसेवी रुपमा काम गर्नुपर्छ । त्यसैले भ्याइएको छैन होला । हामी थप जनशक्ति राखेर पनि छिट्टै सक्छौं ।” उनले भने । भिक्टोरिया लगायतका राज्यहरुमा १० दिनअघि दिइएका आवेदनहरु पनि हालसम्म स्वीकृत गरिएको छैन ।

यो विवादबारे हामीले ओसेनिया क्षेत्रीय संयोजक दिनेश पोखरेलसँग कुरा गरेका थियौं । उनले अक्टोबरसम्म काम गर्न कुनै दुविधा नरहेको दोहोराए । एघारौं अधिवेशनबाट निर्वाचित हामीले अक्टोबरसम्म काम गर्ने हो । अक्टोबरपछि एकता भएर सहमतिमा काम गर्नुको विकल्प छैन । अदालतले गर्ने निर्णय नै सबैका लागि मान्य हुन्छ जस्तो लाग्छ । अक्टोबर पछि संयुक्त अधिवेशन गरेर एनआरएन एकता गर्नुपर्छ जस्तो मलाई लाग्छ ।