एनआरएन अष्ट्रेलियाको सदस्यता १५ जुनसम्म लिन सकिने, आवेदन पुग्यो करिब १० हजार

एनआरएन अष्ट्रेलियाको सदस्यता १५ जुनसम्म लिन सकिने, आवेदन पुग्यो करिब १० हजार


मेलबर्न, अष्ट्रेलिया । गैरआवासीय नेपाली संघको सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण आगामी जुन १५ तारिख सकिने भएको छ । एनआरएनले बिहीबार विहान सदस्यताको आंकडा सार्वजनिक गरेको छ । करिब १६ हजार सदस्य रहेको एनआरएन अष्ट्रेलियाले बिहीबारसम्म करिब १० हजारको आंकडा छुन लागेको छ । यो संख्या स्वीकृत भएका सदस्य नभएर आवेदन दिएकाहरुसहितको हो ।

एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलका अनुसार बुधबार मध्यरातसम्ममा ५ हजार ७ सय ३ जनाको स्वीकृत सदस्यता पुगेको छ । यस्तै १८५१ जनाको आवेदन आएर स्वीकृतिका लागि प्रमाणित गर्ने कार्य चलिरहेका छ भने १७९६ आवेदनहरु ड्राफ्टमा छन् । एनआरएन अष्ट्रेलियाले एमआईएस सिष्टममार्फत सदस्यता वितरण गरेको छ । यसका लागि एनआरएनको स्मार्ट एप डाउनलोड गरेर सजिलै सदस्यता आवेदन दिन सक्ने व्यवसथा गरिएको छ । नवीकरण गर्नका लागि तीन मिनेटभन्दा कम समयावधि लाग्ने गरेको छ भने कागजपत्र तयारी अवस्थामा नयाँ सदस्यताका लागि ५ मिनेटमै आवेदन दिन सकिने अवस्था छ ।

एनआरएन अष्ट्रेलियाले सार्वजनिक गरेको विवरण अनुसार स्वीकृत सदस्यमध्ये सबैभन्दा धेरै वेष्टर्न अष्ट्रेलियामा सदस्य भएका छन् । जहाँ १५ सय ५८ जनाको सदस्यता स्वीकृत भइसकेको छ । यस पटक न्यूसाउथवेल्स बाहेकबाट अध्यक्ष पदमा उम्मेद्वारी दिन पाइने भएका कारण सिड्नी बाहिर अर्कै उत्साह देखिएको छ ।

वेष्टर्न अष्ट्रेलियापछि न्यूसाउथवेल्स दोश्रोमा देखिन्छ ९ सय ८७ सदस्यता स्वीकृत सहित, त्यस्तै तेश्रोमा क्वीन्सल्याण्ड, ८ सय ६५, भिक्टोरिया ५ सय ५८, राजधानी क्यानबेरा ४ सय ८१, तास्मानिया ३ सय ६५ सदस्य स्वीकृत भइसकेका छन् । नर्दन टेरेटोरीमा ३ सय १७ जनाको सदस्यता स्वीकृत भएको छ ।