ब्रिसबेन, अष्ट्रेलिया ।
अष्ट्रेलियाको ब्रिसबेनमा सञ्चालित दुई गहना पसलहरुमा छोटो समयको अन्तरालमा भएको आक्रमण र लुटपाटका घटनाले यहाँको समूदायलाई चिन्तित तुल्याएको छ ।
ब्रिसबेनको चम्साईड क्षेत्रमा रहेको श्री गणेश ज्वेलर्समा प्रवेश गरेका चार जना नकाबधारीहरुले बुधबार लुटपाट गरेका छन् । लुटपाटअघि पसलमा रहेका सञ्चालक विजय सुनारलाई उनीहरुले हथौडाले प्रहार गरेका थिए । अहिले निजको अस्पतालमा उपचार भइरहेको छ । घटनाको बेला उनको परिवार पनि पसलमै रहेका थिए । पसलमा प्रवेश गर्नुअघि ढोका बन्द रहने र भित्रबाट मात्रै खोल्न सक्ने भएपनि लुटेराहरुले अर्को व्यक्ति प्रवेश गर्दैगर्दा जबर्जस्ती भित्र गएका थिए ।
एक महिना अघि पनि ब्रिसबेनमा नै तेजेन्द्र घिमिरेको सुन पसलमा लुटपाट भएको थियो । त्यहाँ तीन जना लुटेराहरुले अहिलेकै शैलीमा लुटपाट गरेका थिए । दोश्रो लुटपाट गर्नेहरु अघिल्लो समूह नै हुनसक्ने देखिन्छ ।

यस्तै केही महिना अघि मेलबर्नको कोबर्ग क्षेत्रमा रहेको सुन पसलमा पनि लुटपाट भएको थियो । कारलाई व्याक गरेर पसलको मुख्य सटर फुटाएपछि भित्र पसेर २ मिनेटभित्रैमा लाखौंको गहना चोरी भएको थियो । मुख्यत सजिलो निशानाका रुपमा लुटेराहरुले नेपाली सुनचाँदी पसलहरुमा लगातार जस्तो आक्रमण गर्न थालेका छन् । हालसम्मका घटनामा प्रहरीले खासै अनुसन्धान र पक्राउ गर्न नसकेको र घटनापछि अपराधीलाई खोज्नभन्दा पनि बिमा कम्पनीमा दावी गर्न प्रहरीले सुझाव दिने गरेको व्यवसायीहरुले बताउँदै आएका छन् ।
नेपाली समूदायका अगुवाहरुले यस किसिमको घटना बढ्दै जाँदा व्यवसाय गर्न नै कठिनाई हुँदै गएको बताएका छन् । उनीहरुले सरकार, प्रहरीलाई दबाब दिएर भएपनि अपराधीलाई कारवाही गराउन नसक्ने हो भने व्यवसाय नै संकटमा पर्ने चिन्ता व्यक्त गरेका छन् ।
यसैबीच, एनआरएन क्वीन्सल्याण्डका संयोजक शम्भु गाईसीले एक विज्ञप्ति जारी गर्दै नेपाली लक्षित आक्रमणका घटना तत्काल रोक्नुपर्ने बताएका छन् । प्रहरी प्रशासन सहित क्वीन्सल्याण्ड सरकारलाई नेपाली व्यवसायीहरुको सुरक्षाको प्रत्याभूति दिन पनि उनले माग गरेका छन् । लुटपाटका घटनाबारे निष्पक्ष छानविन गर्न र अपराधीलाई दण्डित गरिएको सुनिश्चित गर्न पनि एनआरएन क्वीन्सल्याण्डले माग गरेको छ ।

प्रतिक्रिया