घुस लिएको प्रमाणित गरे जिम्मेवारी लिन तयार छु : माधव कुमार नेपाल

घुस लिएको प्रमाणित गरे जिम्मेवारी लिन तयार छु : माधव कुमार नेपाल



काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको बढ्दो प्रभावले केही व्यक्तिहरू त्रसित बनेको र त्यसकै कारण आफूविरुद्ध पूर्वाग्रहसहित भ्रष्टाचारको मुद्दा लगाउने प्रयास भएको बताएका छन्।

एकीकृत समाजवादी मधेस प्रदेश सम्पर्क समितिको प्रथम अधिवेशनमा बोल्दै नेपालले पार्टीको महत्त्वपूर्ण भूमिकाले केहीलाई असहज बनाएको उल्लेख गरे।

‘अहिले नेपालको राजनीतिमा हाम्रो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको छ । हाम्रो पार्टीको महत्त्वपूर्ण भूमिका देखेर कतिपय व्यक्तिहरू आत्तिएका पनि छन्, आतंकित पनि भएका छन् । पूर्वाग्रह राखेर बसेका छन्, बद्लाको भावनाले उनीहरूलाई पोलिराखेको पनि छ । त्यसैको एउटा उदाहरण ममाथि भ्रष्टाचारको मुद्दा लगाउनका लागि पहल भएको छ,’ उनले भने।

उनले आफूमाथि लगाइएको आरोप गलत रहेको स्पष्ट पारे। ‘भ्रष्टाचारको केस जसमा निर्णायकको आधार चाहिन्छ। माधव नेपालले कसैसँग एक पैसा घुस लिएको भएँ, एकदाम जग्गा घुस लिएको भएँ, अनुचित काम गरेको भएँ, देश र जनतालाई नोक्सान हुने कुनै काम गरेको भएँ त्यसको सम्पूर्ण जिम्मेवारी म लिन तयार छु,’ उनले भने।