काठमाडौं । नेपालीहरुको आकर्षक गन्तव्य मानिएको अमेरिकामा नेपाली चारजनाको शव एकै घरमा गोली लागेको अवस्थामा भेटिएको छ । मानेसास पार्कको एक अपार्टमेन्टमा प्रहरीले वेलफेयर चेकका क्रममा चार जनाको शव फेला पारेको थियो । मृतकहरुमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अन्जु श्रेष्ठ, उनकी ८ वर्षीया छोरी र २ वर्षीय छोरा रहेको बताइएको छ ।
जुन ५, २०२५ को राति करिब १०:४० बजे प्रहरी घटनास्थलमा पुग्दा त्यहाँ चार शव भेटिएको र प्रहरीले घटनास्थलबाट एउटा पेस्तोल बरामद गरेको थियो । यो घटनालाई प्रारम्भिक रूपमा पारिवारिक हत्या/आत्महत्याको मामलाको रूपमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
मानेसास पार्क प्रहरीका अनुसार घरधनीले भाडामा बस्ने परिवारसँग सम्पर्क हुन नसकेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले अपार्टमेन्टमा प्रवेश गर्दा चारै जनालाई गोली लागेको अवस्थामा मृत फेला पारेको थियो। शवहरूलाई पोष्टमार्टम र थप अनुसन्धानका लागि मेडिकल एक्जामिनरको कार्यालयमा पठाइएको छ।
छिमेकीहरुले स्थानीय समाचार संस्थाहरुलाई बताए अनुसार उनीहरु ६ महिना अघि मात्रै नेपालबाट अमेरिका आई त्यहाँ बसोबास गर्दै आएका थिए । ८ वर्षीय बालिकाले मनासस पार्क सिटी स्कुलमा पढाई सुरु गरेकी थिइन् । विद्यालयले एक शोक वक्तव्य जारी गर्दै पीडित विद्यार्थीका साथीभाई र शिक्षक शिक्षिकाहरुलाई मानसिक सहायता उपलब्ध गराउने तयारी गरेको जनाएको छ । यही क्षेत्रमा केही समय अघि नेपाली नर्सममता काफ्ले गायब भएकी थिइन् । पछि उनको शव टुक्रा पारेर उनकै पतिले गायब बनाएको अभियोगमा मुद्दा चलिरहेको छ ।
प्रतिक्रिया