एनआरएन अष्ट्रेलियाको सदस्यता नवीकरण सुस्त गतिमा बढ्नुको तीन कारण !

एनआरएन अष्ट्रेलियाको सदस्यता नवीकरण सुस्त गतिमा बढ्नुको तीन कारण !



मेलबर्न, अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको निर्वाचनका लागि सदस्यता नवीकरण मिति सकिन एक दिन बाँकी छ । संस्थाकै आधिकारिक विवरण अनुसार यतिबेलासम्म अधिकतम पाँच हजार मात्र सदस्य बन्ने संकेत छ । तर, विगतमा १६ हजार सदस्य रहेको एनआरएन अष्ट्रेलियाले एक साता समय थप गर्दै यो संख्या भेट्टाउने लक्ष्य राखेको छ ।

विगतमा पनि सदस्य बन्ने क्रम अन्तिम समयमा तिव्र गतिमा बृद्धि हुने गर्दथ्यो तर हालको समयसम्म आइसक्दा कम्तिमा पनि १० हजार सदस्य बनिसकेको अवस्था विगतमा थियो । यस पटक एनआरएन अष्ट्रेलियाका सदस्यहरु नबढ्नुका विविध पक्षहरु भएपनि मुख्यत तीन कारणले यसलाई प्रभावित तुल्याएको छ भन्दा फरक पर्दैन । आउनुस् तिनको चर्चा गरौं –

१.

पहिलो कारण, आईसीसीमा देखिएको विवाद हो । गैरआवासीय नेपाली संघको केन्द्रमा यतिबेला विवाद अदालतमा पुगेर थामिएको छ । अदालतले गर्ने फैसलाले संस्थाको आगामी कार्यदिशा निर्देश गर्नेछ । हालको संस्थापन पक्षलाई अक्टोबरसम्म काम गर्ने अधिकार एकातिर अदालतले दिएको छ भने अर्कोतर्फ उच्चस्तरीय संयन्त्रले नयाँ आउने कार्यसमिति नै बनाइसकेको दावी गर्दै त्यसलाई परराष्ट्रमार्फत विश्वभर आधिकारिताको लागि गरेको पत्राचाका कारण स्थिति पेचिलो बनेको छ । नयाँ अध्यक्ष बनेका महेश श्रेष्ठको कार्यकाल कहिले सुरु हुने, उनले संस्थाको सम्पूर्ण संरचनामा अधिकार कहिले पाउने भन्ने टुंगो छैन । यस विवादको बाछिटा एनआरएन अष्ट्रेलियाको चुनावमा प्रष्ट देख्न सकिन्छ । यही विवादका कारण एउटा समूह अहिलेसम्म सदस्यता बनाउने अभियानमा निस्क्रिय छ । माथिको आदेश पर्खिरहेको यो समूहले कम्तिमा पनि ३० प्रतिशत सदस्यता होल्ड गरेको अनुमान छ ।

२.

दोश्रो कारणमा यस पटकको निर्वाचनबाट छानिने नेतृत्व हो । सबैभन्दा बढी नेपाली बसोबास गर्ने न्यूसाउथवेल्स राज्यबाट अबको नेतृत्व चुनिने छैन । विधानको बाध्यात्मक प्रावधानका कारण सिड्नीबाहिर नेतृत्व जाँदैगर्दा सदस्यता वितरण अभियानमा शिथिलता आएको छ । उसै त नेपालीको बसोबास न्यूसाउथवेल्समा अष्ट्रेलियामा रहेको कूल संख्याको ५० प्रतिशत रहेको र अन्य ७ वटा स्टेटमा बाँकी ५० प्रतिशत भएका कारण उत्साहमा कमी आएको देखिन्छ । खासमा विधानमा यो प्रावधान लगातार एउटै राज्यबाट केन्द्रीय नेतृत्वमा पहुँच भइरहने तर अन्य राज्यहरुमा भने नेतृत्व नै विकास गर्न नसकिने कारणहरुले राखिएको थियो । विकेन्द्रीकरणको सफलतम अभ्यासको सोचमा यो प्रावधान ल्याइएको थियो । यसै प्रावधानका कारण भिक्टोरियाले हालसम्म दुईपटक नेतृत्व गर्ने अवसर पाइसकेको छ । तर, एनआरएन अष्ट्रेलियाको अध्यक्षका रुपमा अन्य राज्यहरुले भने अवसर पाएका छैनन् । भिक्टोरियाका केशव कँडेल र टोनु घोताने बाहेक एनआरएन अष्ट्रेलियाका हालसम्मका सबै अध्यक्षहरु सिड्नीमा बसोबास गर्ने नेपाली नै भए ।

३.

तेश्रो र महत्वपूर्ण कारण नेपालीको अन्तिम समयमा आएर मात्र तात्ने बानी रहेको छ । हामीले सुरुमा नै भनिसकेका छौं, एनआरएन अष्ट्रेलियाको सदस्यता नवीकरणको अभियान अन्तिम समयमा एकाएक, रातारात हजारौंको संख्यामा बढ्ने गरेको थियो । अन्तिम समयसम्म पर्खने र सदस्यता नवीकरण गर्ने नेपाली शैलीका कारण अहिलेको संस्थापन पक्ष अन्तिम समयमा सदस्य संख्या कम्तिमा पनि १० हजार पुग्ने अनुमानमा छ । आफ्नो आस्था र क्षेत्रगत प्रतिनिधित्वलाई नेतृत्वमा स्थापित गर्ने उद्देश्य बाहेकका सामान्य अष्ट्रेलियावासी नेपालीहरुले भने बारम्बार प्रश्न गरिरहेको विषय हो, किन एनआरएन अष्ट्रेलियाको सदस्य बन्ने ? के छ फाईदा ? यहाँनेर संस्थाका पदाधिकारीहरुले विगतमा प्राप्त उपलब्धीको प्रचार गर्न र यसको महत्व बुझाउन चुकेको प्रष्ट हुन्छ ।

हुन पनि एनआरएन अष्ट्रेलियाले गत मार्च अप्रिल गरेर करिब दुई महिनाको अवधिमा लगातार, हरेक हप्ता जस्तो नेपाल फेष्टिभल अष्ट्रेलियाका विभिन्न शहरमा गरेको थियो । त्यो यस्तो अवसर थियो जसमा सदस्यता वितरणलाई अघि बढाउन सकिन्थ्यो । सदस्यता चुनाव अघि खुल्ने जादूको पिटारा नभएर चौविसै घण्टा खुल्ला रहने सामान्य प्रक्रिया बनाइएको भए त्यसले पक्कै पनि नयाँ आयाम दिन सक्थ्यो । तर, त्यस्तो भएन । करिब करिब नेतृत्वमा रहेका सबैजना सबै राज्यमा पुगिरहँदा पनि सदस्यताको चर्चासम्म भएन त्यहाँ । अहिले चुनावको पूर्वसन्ध्यामा खुलेको सदस्यता नवीकरणका लागि हामीले माथि दिएका कारणहरु नै बाधक बनिरहेका छन र सुस्त भएको छ यो प्रक्रिया ।

अब चर्चा गरौं, एनआरएन अष्ट्रेलियाको सदस्यता बन्दा सदस्यहरुले बुझाएको ३० डलरको वितरण कसरी हुन्छ रु यसको बारेमा । एनआरएन अष्ट्रेलियाले पहिलो पटक सदस्यता शुल्क ३० डलर बनाएको छ । यसअघि २५ डलर थियो । यो थपिएको ५ डलर अष्ट्रेलियाका विभिन्न राज्यमा बनिरहेका बहुसांस्कृतिक केन्द्र वा नेपाली मन्दिरहरुको सहयोगका रुपमा हस्तान्तरण गरिनेछ । मानौं, भिक्टोरियामा एक हजार सदस्य भएभने ५ हजार डलर यहाँ बनिरहेको अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरले प्राप्त गर्नेछ । यस्तै कूल सदस्यतामध्येको ४ डलर सम्बन्धित राज्यले, ५ अमेरिकी डलर आईसीसीको लेबी र ५ डलर सोसियल वेलफेयर फन्डमा वितरण हुन्छ । बाँकी रहेको रकम एनआरएन अष्ट्रेलियाले २ वर्ष कार्यसञ्चालनमा खर्च गर्ने प्रावधान छ । १० हजार मात्रै सदस्य बनेको अवस्थामा पनि एनआरएन अष्ट्रेलियाले सदस्यता शुल्क वापत ३ लाख अष्ट्रेलियन डलर संकलन गर्नेछ ।