एनआरएन अष्ट्रेलियाको चुनावमा आईसीसी विवादको बाछिटा !

एनआरएन अष्ट्रेलियाको चुनावमा आईसीसी विवादको बाछिटा !


मेलबर्न, अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियामा आगामी जुलाई २६ तारिखको लागि तोकिएको निर्वाचन नजिकिँदै गर्दा केन्द्रमा देखिएको विवादको बाछिटा यहाँ पनि देखिन थालेको छ । शेष घलेको उच्चस्तरीय समितिमार्फत बनेको महेश श्रेष्ठको निर्विरोध निर्वाचित टिमले परराष्ट्र मन्त्रालय मार्फत विभिन्न दूतावासहरुलाई पत्राचार गराएपछि अब एनसीसीहरुको चुनावमा छुट्टै प्यानल खडा गर्ने तयारी थालेको छ । यसैको लागि जनसम्पर्क समितिमा निर्देशन समेत आइसकेको पाइएको छ ।

जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष सुरेश गुरुंग आफु महेश श्रेष्ठको सम्पर्कमा रहेको बताउँछन् । केविसीखबरसँग कुरा गर्दै उनले हाललाई एमआईएस सिष्टममा सदस्य नबनाउने निर्णय भएको बताए । “महेश दाईले तीन दिनको समय माग्नुभएको छ । अहिलेको एमआईएस सिष्टममा नै सदस्य बनाउने कि के गर्ने भन्ने निर्देशन आएपछि हामी त्यसै अनुसार गर्छौं ।” उनले भने ।

हुनतः एनआरएन अष्ट्रेलियाको गत निर्वाचनमा जनसम्पर्क समिति नै दुईचिरा भएको थियो । त्यसैमध्येको एक समूहले जीत हात पारेको थियो । जनसम्पर्क समितिको आधिकारिक उम्मेद्वार भएको चिठ्ठी बोकेर हिंडेका डिला खरेल पराजित भएका थिए ।

एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल कुनैपनि हालतमा एनआरएन अष्ट्रेलिया विभाजित नहुने बताउँछन् । सबै पक्षसँग मेरो कुरा भइरहेको छ । अष्ट्रेलियामा एनआरएन विभाजित भएर दुईवटा संस्था बन्यो भने अहिलेसम्म हामीले यहाँको राजनीतिक वृत्तमा, अष्ट्रेलियाको समाजमा, सरकारी संयन्त्रहरुमा बनाएको शाख त्यसै खेर जानेछ । त्यस्तो अवस्थामा कसले पत्याउला रु उनले केविसीखबरसँग भने, चुनाव मार्फत आफ्नो एजेन्डा स्थापित गर्दा भइहाल्छ ।

यता यस्तो विवाद चलिरहेको छ भने उता काठमाडौंमा गैरआवासीय नेपाली संघको हालको नेतृत्व भने सर्वोच्च अदालतको आदेशलाई पर्खिरहेको छ । एनआरएन आईसीसीका सचिव डा। ज्ञानेन्द्र रेग्मी भन्छन् -“सर्वोच्च अदालतले आगामी अक्टोबरसम्म यही समितिलाई वैधानिकता दिएको हो । हामीलाई अवैधानिक भनिएको अवस्था हैन । त्यसैले अक्टोबरसम्म एनआरएनको नाममा हुने सबै अधिवेशनहरु गराउने जिम्मा हाम्रै हो । सदस्यता वितरण, मतदान लगायतका सबै कुरा एनसीसीहरुले एमआईएस सिष्टम मार्फत नै गर्नुपर्दछ । आईसीसीको अधिवेशन कसले गर्ने भन्ने कुरा चाहीँ सर्वोच्चको फुलबेञ्चले निर्णय गरेपछि टुंगो लाग्नेछ ।”

एनआरएन अष्ट्रेलियाले प्रमुख निर्वाचन आयुक्त घोषणा गरेर चुनावी तयारी थालेको छ भने सदस्यता वितरणलाई तिव्रता दिएको छ । हालसम्म २ हजारको हाराहारीमा सदस्यताको आवेदन परेको छ । आगामी ६ जुनसम्म सदस्य बन्ने समयसीमा भएपनि एक साता थप गर्ने अवस्था छ । अन्तिम समयमा नै सदस्यता बन्ने अष्ट्रेलियाको नेपाली समूदायको पुरानै चलन हो । यस्तै नेतृत्वको होडबाजीमा विभिन्न राज्य संयोजक पदमा उम्मेद्वारी घोषणा गर्ने क्रम बढेको छ । केन्द्रमा कम्तिमा ४ जना अध्यक्षको पदका आकांक्षी देखिएका छन् ।