फेडरेसन अफ नेप्लीज कम्युनिटि एशोसिएसन अफ अष्ट्रेलिया फेन्काले अष्ट्रेलियाको भिक्टोरिया राज्य संसदमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाएको छ । दोश्रो पटक यहाँको संसदमा दिवस मनाउँदा अष्ट्रेलिया नेपाल संसदीय समितिकी संयोजक क्याथलिन म्याथ्यू वार्डले यसको संयोजन गरेकी थिइन् । कार्यक्रममा भिक्टोरिया राज्यका डेप्युटी प्रिमियर बेन क्यारोल प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए भने अन्य सांसदहरु ईवान वाल्टर, क्याथलिन म्याथ्यू वार्डले पनि सहभागिता जनाएका थिए ।
फेन्काले भिक्टोरियामा रहेका आफ्ना सदस्य संस्थाहरुको सहकार्यमा नेपालको हिमाली क्षेत्रलाई जोगाउँ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरेको थियो । फेन्काले यस्तै कार्यक्रम अष्ट्रेलियाका विभिन्न राज्यमा समेत गर्दै आएको छ ।


















कार्यक्रममा बोल्दै प्रमुख अतिथि डेप्युटी प्रिमियर बेनले न्यूसाउथवेल्समा बाढी गइरहेको छ तर भिक्टोरियामा सुक्खा लागेको छ भन्दै वातावरणीय परिवर्तनको असर विश्वभर रहेको र यसको आवाज नेपालीहरुले भिक्टोरियाको संसदमा उठाउनु महत्वपूर्ण भएको बताएका थिए । उनले पेरिस सम्झौताको कार्यान्वयन गर्नुपर्ने भन्दै हिमालमा हिउँ घटिरहेको देख्दा सबैलाई चिन्तित तुल्याएको समेत बताए ।
उक्त अवसरमा फेन्काका प्रवक्ता भोला गिरीले बढ्दो विश्व तापमानले हिमाली क्षेत्रमा पारेको प्रभावका विषयमा आफ्नो प्रस्तुति दिएका थिए । फेन्काका अध्यक्ष बम योन्जनको स्वागत र कार्यक्रमको जानकारीबाट सुरु भएको कार्यक्रममा नेपाली समाजका अगुवा जोग लिम्बुले दिएका थिए ।

उक्त अवसरमा बोल्दै भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौलीले सर्वोच्च शिखरको पहिलो पटक सर एडमन्ड हिलारी र तेन्जिंग नोर्गे शेर्पाले सफलतापूर्वक आरोहण गरेको दिनको स्मरणमा सगरमाथा दिवस मनाउने गरिएको बताए । भिक्टोरियाको संसदमा नै यो दिवस मनाउनु ऐतिहासिक भएको भन्दै उनले आगामी दिनमा अष्ट्रेलियाका सांसदहरुले गर्न लागेको नेपाल भ्रमणको क्रममा सगरमाथा बेसक्याम्पसम्म पुग्न पनि आग्रह गरेका थिए ।

फेन्काका पूर्वअध्यक्ष डा. राजु अधिकारीले सञ्चालन गरेको कार्यक्रममा आमा डब्लम हिमालको सफलतापूर्वक आरोहण गरिसकेकी जेन विल्सले आफ्नो अनुभव सुनाएकी थिइन् । उनले सन् २०२३ मा सगरमाथा आरोहण थालेपनि त्यो ८ हजार मिटरको उचाईमा पुगेपछि स्थगित गर्नुपरेको थियो । उनले अझै पनि आफ्नो सपना पूरा गर्ने अभिलषा प्रकट मात्र गरिनन् हिमाल र हिमाली क्षेत्रका बासिन्दाहरुको बारेमा आफ्नो अनुभव पनि साटेकी थिइन् । उनलाई मेनी स्क्लेरोसिस भएको चिकित्सकहरुले बताएका छन् । तर, रोगसँग जुध्दै आरोहण सफल बनाउनले अठोट उनले व्यक्त गरिन् । कार्यक्रममा सांसद क्याथलिन म्याथ्यू, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका निर्देशकद्वय सरोज शर्मा, बसन्त पोखरेल र जेन विल्सलाई सम्मान पनि गरिएको थियो ।
प्रतिक्रिया