कमल भण्डारीले पाए तास्मानियाको प्रतिष्ठित खेलकुद पुरस्कार !

कमल भण्डारीले पाए तास्मानियाको प्रतिष्ठित खेलकुद पुरस्कार !

रअ स्ट्रेन्थ तास्मानिया स्पोर्ट्स इन द कम्युनिटी अवार्ड



तास्मानियाको होबार्टमा सम्पन्न तास्मानियन यङ अचिभर अवार्ड कार्यक्रममा नेपाली समुदायका युवा नेता कमल भण्डारीलाई “रअ स्ट्रेन्थ तास्मानिया स्पोर्ट्स इन द कम्युनिटी अवार्ड” प्रदान गरिएको छ।
भण्डारी तास्मानियन नेपाली क्रिकेट संघका अध्यक्ष हुन्। उनले तास्मानियामा महिला, युवा र विभिन्न समुदायलाई समेट्ने गरी क्रिकेटमार्फत सामाजिक समावेशिता र सहभागिता प्रवर्द्धन गर्दै आएका छन्।
उनको नेतृत्वमा दर्जनौं महिला खेलाडीले पहिलो पटक क्रिकेट खेल्ने अवसर पाएका छन् भने नेपाली समुदायबीच खेलकुदमार्फत एकता, उत्साह र सहभागिता बढेको छ।
यसअघि भण्डारीले सन् २०२३ मा क्रिकेट तास्मानियाबाट वर्षको उत्कृष्ट स्वयंसेवकको उपाधि प्राप्त गरेका थिए। यो पछिल्लो पुरस्कारसँगै तास्मानियाली नेपाली समुदायको योगदानलाई औपचारिक रूपमा राज्यस्तरमा चिनिएको छ।
पुरस्कार प्राप्त गरेपछि केबीसी खबरसँग प्रतिक्रिया दिँदै भण्डारीले यो सम्मान व्यक्तिगत नभई सम्पूर्ण नेपाली समुदायको हो भन्दै समुदायमा अझ प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाएका छन्।

यसैगरी ‘पिपल्स च्वाइस अवार्ड’ बाट लन्चेस्टन निवासी चेत नारायण सापकोटा सम्मानित भएका छन्।
तास्मानियन यङ अचिभर अवार्ड सन् १९८९ देखि प्रदान गरिँदै आएको राज्यस्तरीय सम्मान हो, जसअन्तर्गत खेलकुद, विज्ञान, व्यवसाय, सेवा, नेतृत्व, कला, वातावरणलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने युवाहरूलाई हरेक वर्ष सम्मान गरिन्छ। रअ स्ट्रेन्थ तास्मानिया स्पोर्ट्स इन द कम्युनिटी अवार्ड भने खेलकुदलाई समावेशिता, सहभागिता र सामाजिक एकताको माध्यम बनाउने युवा नेताहरूलाई दिइने विशेष सम्मान हो।