काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह को सचिवालयले वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरलाई सातदिने स्पष्टीकरण सोधेको छ । मेयर बालेनको निर्देशनमा जेठ ८ गते स्पष्टीकरण सोधिएको हो ।
यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । त्यसपछि बालेनको आदेशमा उनको सचिवालयले प्रवक्ता समेत रहेका मानन्धरलाई सातदिने स्पष्टीकरण सोधेको हो ।
विभिन्न सञ्चारमाध्यममा मेयरको व्यक्तिगत चरित्रमाथि निराधार, खेदजनक र कपोकल्पित अभिव्यक्ति दिँदै मेयरको निजी जीवनमा आपत्तिजनक टिप्पणी र सार्वजनिक प्रतिष्ठामा समेत आँच आउने गरी अभिव्यक्ति दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको सचिवालयले जनाएको छ ।
मेयरको सचिवालय प्रमुख शान्ता पहाडीको हस्ताक्षर रहेको पत्रमा भनिएको छ, “अझ विशेषतः जनताको मतबाट निर्वाचित जनप्रतिनिधि जस्तो गरिमायुक्त पदमा रहनुभएका व्यक्तिबाट यस्ता आधारहीन, अनौपचारिक र अमर्यादित अभिव्यक्ति सार्वजनिक रूपमा दिनु शोभायुक्त कार्य होइन भन्ने कुरा समेत स्मरण गराइन्छ ।”
अभिव्यक्ति स्वतन्त्रताको सीमाभन्दा पर गएर व्यक्तिगत चरित्रहत्या, मानहानि तथा सामाजिक प्रतिष्ठामा गम्भीर आँच पुर्याउने कार्य भएको विज्ञप्तिमा उल्लेख छ । “यस प्रकारका अभिव्यक्तिहरूले अभिव्यक्ति स्वतन्त्रताको सीमाभन्दा पर गएर व्यक्तिगत चरित्रहत्या, मानहानी तथा सामाजिक प्रतिष्ठामा गम्भीर आँच पुर्याउने कार्य गरेका छन् । जुन मुलुकी फौजदारी संहिता, २०७४ बमोजिम आपराधिक मानिने तथा कानुनतः दण्डनीय हुने भएकाले, यस सम्बन्धमा सुसूचित गराउँदै गल्तीको स्वीकारोक्तिसहित भविष्यमा यस्ता गतिविधि नगर्ने भनि लिखित प्रतिवद्धता प्रमुखज्यूसमक्ष सात दिनभित्र पेस गर्नुहुन आदेशानुसार अनुरोध गर्दछु,” पत्रमा भनिएको छ ।
प्रवक्ता मानन्धरले भने स्पष्टीकरणको कुनै तुक नभएको बताएका छन् । आफुले सिंहदरबार जलाइदिन्छु भन्दा स्पष्टीकरण दिन नपर्ने, विना आधार देशका प्रधानमन्त्री लगायतलाई आरोपित गर्दा स्पष्टीकरण नदिने तर अभिव्यक्ति स्वतन्त्रता उपयोग गर्दा स्पष्टीकरण किन दिनुपर्ने भनी उल्टै प्रश्न गरेका छन् । धेरैले बालेनले अब प्रवक्ता परिवर्तन गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको मानेका छन् ।
प्रतिक्रिया