सिड्नी, अष्ट्रेलिया ।
अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यका केही भागमा आएको बाढीका कारण हालसम्म तीन जनाको ज्यान गएको पुष्टि भएको छ । हजारौं मानिसहरु बाढीबाट प्रभावित बनेका छन् ।
प्रहरीले बिहीबार कफ्स हार्बरभन्दा ३० किलोमिटर पश्चिममा रहेको ब्रोकालानामा एक ६० वर्षीय महिलाको शव उनको कारमा फेला पारेको थियो । यससँगै मृतकको संख्या तीन पुगेको छ भने एकजना अझै बेपत्ता छन् । प्रधानमन्त्री एन्थोनी एल्बानिजीले बाढीमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
न्यूसाउथवेल्सका केही क्षेत्रमा एकै दिन ५ सय ३३ मिलीमिटरसम्म वर्षा भएको रेडर्क बनेको छ । टारी क्षेत्रमा ४ सय ६३ मिलिमिटर, पोर्ट मक्वाईरीमा ३ सय ५४, केम्प्सेमा २ सय ६३ मिलीमिटर र केयरीज पिकमा ५ सय ३३ मिलीमिटर वर्षा रेकर्ड गरिएको छ । यो वर्षा गएको ५१ वर्षमा मे महिनामा परेको सबैभन्दा बढी मानिएको छ ।
न्यूसाउथवेल्सका प्रिमियर क्रिस मिन्सले प्रभावित क्षेत्रमा ठूलो मात्रामा आपतकालीन स्वयंसेवकहरु परिचालन गरिएको बताएका छन् । उनले २५ सय आपतकालीन सेवाका स्वयंसेवक परिचालन भएको बताए । १३ हेलिकोप्टर, ५ सय यातायातका साथ, सैयौ ड्रोनहरु पनि यो परिचालनको हिस्सा भएका छन् ।
बिहीबार रातिबाट न्यूसाउथवेल्सको उत्तरपूर्वी क्षेत्रबाट वर्षा सिड्नीतर्फ अघि बढेको छ ।
प्रतिक्रिया