खुकुरी प्रहार गर्ने चार जनाविरुद्ध जाहेरी दर्ता

खुकुरी प्रहार गर्ने चार जनाविरुद्ध जाहेरी दर्ता


लमजुङ । तरुण दल लमजुङको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन शत्रमा भएको विवादपछि खुकुरी प्रहार गर्ने चार जनाविरुद्ध जाहेरी दर्ता भएको छ । घटना भएको चार दिनपछि जिल्ला प्रहरी कार्यालयमा सोमबार जाहेरी दर्ता भएको प्रहरीले जनाएको हो ।

पीडितका तर्फबाट मध्यनेपाल नगरपालिका–७ का किरण गुरुङ, सोही वडाका धनबहादुर तामाङ, राइनास नगरपालिका–६ का गणेश गुरुङ र मर्स्याङ्दी गाउँपालिका–५ का भूपेश गुरुङलाई ज्यान मार्ने उद्योगअन्तर्गत प्रहरीमा जाहेरी दर्ता भएको हो । संस्थापन इतर समूहका युवाले अधिवेशन वैधानिक नभएको भन्दै रोक्न खोजेपछि भएको वादविवादमा संस्थापन पक्षका युवाले खुकुरी प्रहार गरी युवाहरूलाई घाइते बनाएका थिए ।

तरुण दल लमजुङको पाँचौँ जिल्ला अधिवेशन शनिबार बेँसीसहरमा चलिरहँदा संस्थापन इतर पक्षले नाराबाजी गर्दै अधिवेशनको वैधानिकतामाथि प्रश्न उठाएका थिए । उद्घाटन शत्र चलिरहँदा भएको नाराबाजीपछि युवाहरूबिच वादविवाद बढ्दै जाँदा संस्थापन पक्षका युवाले खुकुरी र रड प्रयोग गर्दा गम्भीर घाइते भएका खुसीजंग गुरुङ र सुदीप अधिकारीको चितवनमा उपचार भइरहेको छ ।

बेँसीसहर नगरपालिका–९ का वडा अध्यक्षसमेत रहनुभएका खुसीजंग गुरुङ तरुण दल लमजुङको क्षेत्रीय सभापति हुन् भने अधिकारी नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य हुन् । घटनामा घाइते लमजुङ कांग्रेसका जिल्ला सदस्य सन्तोष बस्नेत र नेपाल तरुण दल लमजुङका सदस्य शंकर सापकोटा प्रदेश अस्पताल लमजुङमा उपचारपछि घर फर्किएका छन् ।

घटनापछि संस्थापन पक्ष मुद्दा दर्ता नगरी आन्तरिक रूपमा मिलाउने प्रयासमा रहेको थियो भने संस्थापन इतर पक्ष मुद्दा दर्ता गरी कारबाही गर्नुपर्ने पक्षमा रहेको थियो । उक्त घटनापछि सामाजिक सञ्चालनमा दुवै पक्ष आरोप–प्रत्यारोपमा उत्रिदै आएका छन् ।

घाइतेका तर्फबाट इन्दु अधिकारीसमेतले जिल्ला प्रहरी कार्यालय लमजुङमा शनिबार नै जाहेरी दिए पनि प्रहरीले सोमबार मात्रै दर्ता गरेको हो । जाहेरीको भाषा नमिलेकाले सच्चाएर ल्याउन लगाई दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर शाह तेलीले जानकारी दिए । घटनापछि प्रहरीले हतियार खोसेपनि व्यक्तिलाई पक्राउ नगरेको भनेर आलोचना भइरहेको छ ।