भिक्टोरियामा जनवरीदेखि १८ वर्षमुनीका सबैलाई निःशुल्क सार्वजनिक यातायात सुविधा

भिक्टोरियामा जनवरीदेखि १८ वर्षमुनीका सबैलाई निःशुल्क सार्वजनिक यातायात सुविधा



मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यभर आगामी जनवरी १ तारिखदेखि १८ वर्षभन्दा कम उमेरका सबैजनालाई निःशुल्क सार्वजनिक यातायात सुविधा प्राप्त हुनेछ । यसको अर्थ, विद्यार्थी र युवाहरुले रेलसेवा, ट्राम, सार्वजनिक बस, फेरीहरुमा पनि निःशुल्क सेवा पाउनेछन् ।
भिक्टोरियामा जसिन्टा एलानको सरकारले आगामी मंगलबार पेश गर्न लागेको बजेटमा यस्तो कार्यक्रम सार्वजनिक गरिनेछ । भिक्टोरियावासी युवा र विद्यार्थीहरुलाई युथ माईकी प्रदान गरिनेछ । जसले उनीहरु १८ वर्ष पुग्ने बेलासम्म निःशुल्क सेवा दिनेछ । हाल राज्यमा स्टुडेन्ट पब्लिक ट्रान्सपोर्ट पासका लागि वार्षिक ७ सय ५५ डलर तिर्नु पर्दथ्यो । राज्य सरकारले भिक्टोरियावासीको बढ्दो दैनिक खर्च र महँगीमा राहत दिनका लागि यस्तो कार्यक्रम ल्याएको जनाएको छ ।

यसअघि जेष्ठ नागरिकहरुको लागि सप्ताहन्तमा अर्थात् शनिबार र आईतबार निःशुल्क सार्वजनिक यातायात सेवा घोषणा गरिसकिएको थियो । उनीहरुले अन्य दिनमा ५० प्रतिशत छुटमा यात्रा गर्न पाउनेछन् ।

भिक्टोरियाका यातायात मन्त्री गाब्रियल विलियम्सले सरकारले ल्याएको नीतिले सर्वसाधारणको हजारौं डलर बचत हुने बताएका छन् । सातै दिन निःशुल्क सार्वजनिक यातायात सेवाले परिवारमा ठूलो राहत मिल्ने उनले बताए ।

यो प्रावधानका कारण १० लाखभन्दा बढी युवा विद्यार्थीहरु लाभान्वित हुने अपेक्षा छ । प्रिमियर जसिन्टा एलानले ल्याएको नयाँ नीतिका कारण सरकारलाई चार वर्षको अवधिमा ३ सय १८ मिलियन डलर थप भार पर्नेछ । तर, आम सर्वसाधारणलाई भने यसले राहत दिने मात्र होइन बालबालिकाहरुले थप ठाउँहरुमा जान प्रोत्साहन पाउने अपेक्षा छ ।