होबार्टदेखि लन्चेस्टनसम्म २०० किलोमिटर रिले दौड हुँदै

होबार्टदेखि लन्चेस्टनसम्म २०० किलोमिटर रिले दौड हुँदै


नेपाली सोसाइटी अफ तास्मानिया अन्तर्गतको चिया गफ रन क्लबले आउँदो May 18–19, 2025 मा “The Road Between Us” नामक २०० किलोमिटर लामो दौड आयोजना गर्ने भएको छ। होबार्टको रिगाटा मैदानबाट सुरु भई लन्चेस्टनको क्याटर्याक्ट गोरजमा समापन हुने यो दौड दुई दिनसम्म सञ्चालन हुनेछ।

यो दौड रिले शैलीमा आयोजना गरिनेछ। पाँच जना मुख्य धावकले हरेक दिन एक म्याराथन (४२.२ किलोमिटर) गरी दुई दिनमा झण्डै ८५ किलोमिटर दौडनेछन्। उनीहरूलाई अन्य घुम्ती धावकहरू तथा सहयोगी टोलीले साथ दिनेछन्। सपोर्ट गाडीमार्फत हरेक ५–७ किलोमिटरमा पानी, इलेक्ट्रोलाइट्स र खाजाको व्यवस्था गरिनेछ।

कार्यक्रमको सुरुवात May 18 आइतबार बिहान ४ बजे उद्घाटन समारोहसँगै गरिनेछ भने May 19 सोमबार साँझ दौडको समापन गरिनेछ। अन्तिम ५ किलोमिटरको दौडमा इच्छुक जो–कोही सहभागी हुन सक्नेछन्। समापन समारोहमा समुदायलाई उपस्थित भएर दौडमा सहभागीहरूलाई समर्थन जनाउन आग्रह गरिएको छ।

नेपाली सोसाइटी अफ तास्मानियाका अध्यक्ष रोजिना ताम्राकारका अनुसार, “चिया गफ रन क्लबमा २० देखि ४० वर्ष उमेर समूहका धावकहरू सक्रिय छन्। हामीले दौडलाई स्वास्थ्य, मानसिक सन्तुलन र समुदाय निर्माणको एक सशक्त माध्यमको रूपमा लिएका छौं। ‘चिया गफ’ भन्ने नामले नै नेपाली समाजको आत्मीयता, मित्रता र खुला संवादको भावना प्रतिबिम्बित गर्छ।”

उक्त दौड सामाजिक एकता, सांस्कृतिक समावेशिता र मानसिक स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो। आयोजकहरूका अनुसार, “यो दौड पदक जित्ने प्रतिस्पर्धा होइन, साझा अनुभव, सहकार्य र आत्मबल निर्माणको यात्रा हो।”

बसोबास, खानपान, सुरक्षासम्बन्धी सामग्री र व्यवस्थापन खर्चका लागि GoFundMe मार्फत सहयोग संकलन भइरहेको छ।

https://www.gofundme.com/f/the-road-between-us-hobart-to-launceston-210-km?attribution_id=sl:8b433899-239b-46fa-8150-79b4aac7a32d&lang=en_US&ts=1747085798&utm_campaign=fp_sharesheet&utm_content=amp13_t1-amp14_t2&utm_medium=customer&utm_source=messenger&v=amp14_t2

चिया गफ रन क्लबले यस दौडलाई “Run for Harmony” अर्थात् समरसताको दौडका रूपमा अगाडि सारेको छ। दौडको हरेक पाइला सम्पर्क, सहकार्य र साझा पहिचानको सन्देश बोकेको आयोजकहरूको भनाइ छ।