मेलबर्न, अष्ट्रेलिया ।
नेपालको भरतपुर महानगरपालिका र अष्ट्रेलियाको मेलबर्नमा अवस्थित मेरिबेक सिटी काउन्सिलको सिष्टर सिटी बन्ने भएको छ । मेरिबेक सिटी काउन्सिरलको हालै बसेको बोर्ड बैठकले यी दुई नगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय गरेसँगै अष्ट्रेलियाको कुनैपनि शहरसँग भगिनी सम्बन्ध राख्ने भरतपुर पहिलो महानगर बन्ने भएको छ । निर्णय अनुसार आगामी जुनमा भरतपुर महानगरकी मेयर रेनु दाहाल र मेरिबेक सिटी काउन्सिलकी मेयर हेलेन डेभिडसनबीच औपचारिक भेटघाट तय गरिएको छ । भेटअघि यी दुबै नगरबीच गर्न सकिने सहकार्य, सांस्कृतिक आदानप्रदानको खाका तयार गरिनेछ ।
मेरिबेक सिटी काउन्सिलका मेयर हेलेन डेभिडसन, काउन्सिलरहरु तथा बोर्ड सदस्यहरुले काउन्सिलर क्रिस माईल्सद्वारा प्रस्तुत प्रस्तावलाई सर्वसम्मतले अनुमोदन गरेका थिए ।
अष्ट्रेलियाको भिक्टोरिया राज्यका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौलीका अनुसार यो ऐतिहासिक निर्णयले दुई देशबीचको ६ दशकभन्दा लामो कुटनीतिक सम्बन्धमा नयाँ आयाम थपेको छ ।
उनले केविसीखबरसँग भने, “यो सम्पूर्ण नेपाली समूदायका लागि गर्व र प्रेरणाको क्षण हो । हाम्रो लामो समयको मेहनत, कुटनीतिक पहल र साझा उद्देश्यको परिणामस्वरुप अष्ट्रेलियामा पहिलो पटक कुनैपनि अष्ट्रेलियाको नगरले नेपाली महानगरसँग भगिनी सम्बन्ध स्थापना हुन लागेको हो । यो केवल सुरुवात हो, अब हामीसँग अझ धेरै सम्भावनाहरु छन् ।”
अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको लागि आकर्षक गन्तव्य मानिएको छ । मेरीबेक सिटी काउन्सिलमा मात्रै सन् २०२१ को जनगणना अनुसार २ दशमलब २ प्रतिशत बासिन्दाले घरमा नेपाली भाषा बोल्ने गर्दछन् । यही सिटी काउन्सिल अन्तर्गत ग्लेनरोय, फकनर, ओकपार्क पनि पर्दछ जसमा नेपालीहरुको घना बस्ती रहेको छ ।
यसअघि भरतपुर महानगरपालिका र न्यूसाउथवेल्सको रकडेल सिटी काउन्सिलबीचमा भगिनी सम्बन्ध स्थापनाका लागि प्रक्रिया अघि बढेपनि त्यसले निचोड पाउन सकेको थिएन ।
प्रतिक्रिया