काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीका लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ बेलायतमा बसेर उतैबाट राजीनामा पत्र पठाएकी छिन् । नेपालको कुनैपनि सांसदले बहाल रहेकै बेलामा विदेश पलायन भएको पहिलो घटना बनेको छ । गीता समानुपातिकतर्फबाट सांसद बनेकी थिइन् ।
मंगलबार उनले श्रीमान् कैलाश गुरुङमार्फत् बेलायतबाटै हस्तलिखित राजीनामा पत्र लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीसमक्ष पठाएकी हुन् । गुरुङ यसअघि पनि पटक-पटक बेलायत जाने/आउने गरेकी थिइन् । उनी प्रदेशसभाका ७३ बैठकमध्ये ३२ वटामा मात्र उपस्थित भएको प्रदेशसभा सचिवालयको अभिलेख छ । प्रदेशसभा सदस्य गुरुङ प्रदेशसभामा निर्वाचित भएपछि अहिले तेस्रो पटक २ महिनाअघि बेलायत पुगेकी हुन् ।
‘म मेरो पदमा रहिरहन उपयुक्त सम्झिएर जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन’ उनले सभामुखलाई सम्बोधन गर्दै मंगलबार पठाएको राजीनामा पत्रमा भनिएको छ, ‘तसर्थ, आजैका मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु ।’
उनी जनमतको समानुपातिक कोटामा प्रदेशसभा सदस्य बनेकी थिइन । उनका श्रीमान् कैलाश गत चैतमा जनमत छोडेर उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपालको केन्द्रीय सदस्य बनेपछि उनी दबाबमा थिइन् । त्यही कारण विदेश गएर सांसद पदबाट राजीनामा दिएको एक कार्यकर्ताले बताए ।
जनमत पार्टीका लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्रकेश गुप्ताले प्रदेशसभा सदस्य गुरुङ दुई महिनादेखि पार्टीको सम्पर्कमा नरहेको बताए ।
प्रतिक्रिया