एनआरएन अष्ट्रेलियाको निर्वाचन २६ जुलाईमा, सदस्यता शुल्क ३० डलर

एनआरएन अष्ट्रेलियाको निर्वाचन २६ जुलाईमा, सदस्यता शुल्क ३० डलर


मेलबर्न, अष्ट्रेलिया ।
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले आगामी जुलाई २६ तारिखमा अर्को २ वर्षे कार्यकालका लागि नेतृत्य चयन गर्न निर्वाचन गर्ने घोषणा गरेको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले यस्तो जानकारी दिएका हुन् ।
डिल्ली ढकाललाई राष्ट्रिय निर्वाचन संयोजक तोकिएको छ । उपसंयोजक राजु उपाध्याय तोकिएका छन् । न्यूसाउथवेल्समा राजु मानन्धर, भिक्टोरियामा हेम दुलाल, क्वीन्सल्याण्डबाट सुरेश खत्री, साउथ अष्ट्रलियाबाट अंकुर उपाध्याय, वेष्टर्न अष्ट्रेलियाबाट रविन वर्तौला, तास्मानियामा कन्चन अर्याल र एसिटीबाट कृष्ण सुवेदी र नर्दन टेरेटोरीबाट दिनेश सापकोटा निर्वाचन राज्य संयोजक तोकिएका छन् । अन्य सदस्यहरु निर्वाचन आयोग र एनआरएनले थप गर्ने बताइएको छ ।

यस्तै पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अब एकजना अध्यक्ष, एकजना उपाध्यक्ष, एकजना महासचिव र एकजना कोषाध्यक्षको लागि निर्वाचन गरिनेछ । एनआरएनको राज्य संयोजकहरु अब उपाध्यक्ष नहुने भएका छन् । यो परिवर्तन अघिल्लो पटक एडिलेडमा गरिएको विधान अधिवेशनमार्फत गरिएको थियो । अब एनआरएन अष्ट्रेलियाका बोर्ड सदस्यहरु १९ जना हुनेछन् । यसअघि १७ सदस्यीय बोर्ड रहने गरेकोमा उपाध्यक्ष र प्रिन्सिपल ग्रान्ट अफिसर थप गरिएको हो ।

एनआरएन अष्ट्रेलियाले यसअघि रहँदै आएको सदस्यता शुल्क २५ डलरबाट बढाएर ३० डलर बनाएको छ । यस्तै आजीवन सदस्यता शुल्क २ सय ५० डलर तोकिएको छ । एनआरएन अष्ट्रेलिया विश्वमै सबैभन्दा ठूलो राष्ट्रिय समन्वय समिति थियो । यसका १६ हजार करिब सदस्यहरु रहेका छन् ।

एनआरएन अष्ट्रेलियाको केन्द्रीय कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पोखरेलले पत्रकारहरुका जिज्ञासाको जवाफ दिएका थिए । आजीवन सदस्यहरुले हरेक पटक नवीकरण गर्नुपर्ने किन हो भन्ने जिज्ञासामा उनले आफ्नो कुनै ठेगाना लगायतका विवरण परिवर्तित भए त्यसलाई अद्यावधिक गर्नका लागि यो व्यवस्था गरिएको स्पष्टीकरण दिएका थिए । यस्तै निर्वाचनमा भोट केन्द्रित भएर एउटै क्रेडिट कार्डबाट धेरै सदस्यता बनाउने विकृतिलाई रोक्न के गरिनेछ भन्ने प्रश्नको जवाफमा पोखरेलले यसअघिकै व्यवस्था एउटा कार्डबाट अधिकतम ४ जना बाहेक सदस्य बन्न नमिल्ने व्यवस्था यथावत राखिएको र यसलाई थप व्यवस्थित बनाउने विषयमा निर्वाचन समितिले पूर्णता पाएपछि छलफल अघि बढाइने पनि उनले प्रतिबद्धता जनाएका थिए ।