मेलबर्न, अष्ट्रेलिया ।
आगामी मे ३ तारिख शनिबार मेलबर्नमा गजल मुशायराको १५ औं संस्करण हुने भएको छ । साईनो फंक्सन सेन्टरमा हुन लागेको मुशायरामा २५ जना गजलकारहरुले आफ्नो प्रस्तुति दिनेछन् । आयोजकले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । गजल मुशायरा मेलबर्नका कार्यक्रम संयोजक लक्ष्मण सन्जेलका अनुसार प्रत्येक गजलकारले दुईवटा गजल वाचन गर्नेछन्, जसअनुसार कुल ५० गजलहरू प्रस्तुत गरिनेछन्। गजल वाचनसँगै गजल गायन र गजलमै आधारित नृत्यले कार्यक्रमलाई थप रंगीन बनाउनेछ।
गजल मुशायरा कार्यक्रम २०१४ मा सिड्नीबाट सुरु गरिएको हो, जसले यतिबेला अष्ट्रेलियाका विभिन्न शहरहरूजस्तै सिड्नी, ब्रिसबेन, एडिलेड, अल्बेरी हुँदै नेपाल र मलेशियासम्म आफ्ना सृजनशील पखेटा फैलाइसकेको छ। ११ वर्षको यात्रामा यस कार्यक्रमले नेपाली गजललाई चर्चा दिलाएको छ।
कार्यक्रममा सहभागी हुने सर्जकहरू सिड्नी, न्यूक्यासल, ब्रिसबेन, अल्बेरी तथा मेलबर्नका छन्, जसमा अनुभवसिद्ध गजलकारदेखि नयाँ पुस्ताका उत्साही सर्जकहरूको समावेश छ। गजल बाचनमा रमाउन पाइने यो अवसरमा सुनिल खड्काको गजल गायन र वनिता केसी, अशुं महरा तथा अग्रता नेपालको गजल नृत्य प्रस्तुत रहनेछ। कार्यक्रमको सञ्चालन बासुदेव मरहट्टाले गर्नेछन्।
सन्ज्यालका अनुसार, “गजल मुशायरा कुनै व्यवसायिक उद्देश्यले होइन, नेपाली साहित्य, विशेषगरी गजल विधाको प्रवर्द्धन गर्ने हाम्रो साझा अभियान हो। मेलबर्नमा लामो समयदेखि एक भव्य साहित्यिक कार्यक्रम गर्ने सोच थियो, जुन अब साकार हुँदैछ।”
कार्यक्रम सकिएपछि स्थानीय स्तरका अन्य साहित्यकारहरूको रचना वाचनको पनि अवसर दिइनेछ, जसको समन्वय नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले गर्नेछ ।
गजल मुशायराको सबैभन्दा आकर्षक पक्ष भनेको कार्यक्रमको शुद्ध साहित्यिक स्वरूप हो—जहाँ कुनै लम्बेतान भाषण हुँदैन। प्रत्येक गजलकार सिधै मञ्चमा आउँछन्, आफ्नो गजल सुनाउँछन् र फर्किन्छन्। यही सरलता र समर्पणका कारण गजल मुशायरा संसारभर छरिएका नेपाली गजलप्रेमीहरूमाझ प्रिय बनेको छ।

प्रतिक्रिया