काठमाडौं । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल र क्षेत्रीय संयोजक दिनेश पोखरेलको टोलीले नेपालका लागि अष्ट्रेलियन राजदूत लेना जोन्स्टनसँग भेट गरी दुई देशको सम्बन्ध सुधारमा प्रवासी नेपालीहरुले खेल्नसक्ने भूमिकाबारे छलफल गरेका छन् । यस्तै दुई देशबीच हालै भएको टीफा सम्झौता कार्यान्वयनका लागि समेत आफुहरु भूमिका निर्वाह गर्न ईच्छुक रहेको पनि टोलीले जानकारी गराएको छ ।
दूतावासमा भएको भेटबारे केविसीखबरसँग कुरा गर्दै अध्यक्ष अनिल पोखरेलले भेटका क्रममा नेपाल र अष्ट्रेलियाका राजदूतहरुसँग अष्ट्रेलियामा रहेको नेपाली डायस्पोराको सम्वाद कायमै राख्ने विषयमा पनि छलफल भएको थियो । भेटमा अध्यक्ष पोखरेलले अष्ट्रेलियाको अर्थतन्त्र वार्षिक रुपमा २ दशमलब ६ विलियन डलरको योगदान दिने नेपाली समूदायले त्यसै अनुसार योगदानको मूल्यांकन भने नभएको भन्दै कुराकानी सुरु गरेका थिए । यस्तै एनआरएनले अष्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरु अझ खासगरी नेपालीमूलका विद्यार्थीहरुलाई दिँदै आएको सेवाका बारेमा पनि उनले जानकारी गराएको बताएका छन् ।
अध्यक्ष पोखरेलले दुई देशबीचको सम्बन्धलाई थप गतिशील बनाउन शैक्षिक प्राज्ञिक साझेदारी, छात्रवृत्ति, विद्यार्थी एक्सचेन्ज कार्यक्रम जोड दिन सुझाव दिएको, यस्तै डायस्पोराले नेपालमा गर्ने लगानीलाई पनि टीफा अन्तर्गत प्रबद्र्धन गर्न सुझाव दिइएको नेपाली कामदारहरुलाई अष्ट्रेलियामा सुरक्षित र वैधानिक रुपमा भित्र्याउन पहल आवश्यक भएको, एनआरएनका विभिन्न गतिविधिहरुमा सहकार्यको आह्वान गरिएको जानकारी दिए । बुँदागत रुपमा एनआरएन अष्ट्रेलियाको तर्फबाट राखिएको प्रस्तावमा सहकार्यलाई बढाउँदै लैजाने राजदूत जोन्स्टनले बताएकी थिइन् ।
प्रतिक्रिया