काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न भनी गरेको प्रचारका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेको छ । यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानून बमोजिम कारवाही हुने मन्त्रालयले चेतावनी दिएको छ ।
साथै, समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आइतबार राजधानीमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको थियो । राजावादी आन्दोलनको नेतृत्व नपाएपछि राप्रपाले आफ्नो अस्तित्व स्थापित गर्नका लागि छुट्टै सभा र निषेधित क्षेत्र तोड्ने अभियान अघि बढाएको छ । बल्खुमा भएको प्रदर्शनमा अपेक्षित सहभागिता नभएपछि राप्रपाले विभिन्न ठाउँमा तोकिएको निषेधित क्षेत्रमा एक दुई जनाको हिसाबले प्रवेश गर्ने र एकठाउँ जम्मा भएर नाराबाजी गर्ने, व्यानर प्रदर्शन गर्ने योजना बनाएको राप्रपाका एक नेताले जानकारी दिए ।
यसैबीच, जनआन्दोलन समितिको तर्फबाट जगमान गुरुंगले एक विज्ञप्ति जारी गर्दै राप्रपाको आन्दोलनमा आफुहरुको पूर्ण साथ हुने बताउँदै त्यसमा सहभागी हुन आह्वान गरेका छन् । राप्रपा र जनआन्दोलन परिचालन समिति फरक फरक हो कि भन्ने अड्कलबाजीहरु चलिरहेको बेला एउटै उद्देश्यका लागि आफुहरु परिचालित रहेको देखाउन यस्तो विज्ञप्ति निकालिएको छ । विज्ञप्तिलाई राप्रपाका प्रवक्ता सगुन लावतीले प्रेससमक्ष पठाएका छन् ।
प्रतिक्रिया