अमेरिकाले युक्रेनको प्राकृतिक श्रोत र ऊर्जा सम्पत्तिमा लगानी गर्न कोष बनाउने

अमेरिकाले युक्रेनको प्राकृतिक श्रोत र ऊर्जा सम्पत्तिमा लगानी गर्न कोष बनाउने


युक्रेन र अमेरिकाबीच युक्रेनको प्राकृतिक स्रोत र ऊर्जा सम्पत्तिमा लगानी गर्न कोष स्थापना गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

युक्रेनका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री युलिया स्विरिडेन्को र अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टले सम्झौतापत्रमा भर्चुअल रूपमा हस्ताक्षर गरेको फाइनान्सियल टाइम्सले जनाएको छ।

समझदारीपत्रमा हस्ताक्षर भएपछि अमेरिका र युक्रेनबीचको खनिज सम्झौता हुने बाटो खोलेको बताइएको छ।

समझदारीपत्रमा के छ भनेर विस्तृत खुलाइएको छैन। यद्यपि यो प्रारम्भिक भएको र यसलाई एक साताभित्र पूर्णता दिने तयारी रहेको फाइनान्सियल टाइम्सले स्रोतहरूलाई उद्धृत गर्दै समाचार लेखेको छ।

युक्रेनी अर्थमन्त्री युलिया स्विरिडेन्कोले यो समझदारीले दुई देशबीचको संयुक्त आर्थिक साझेदारीको बाटो खोलेको बताएकी छन्।

उनले यो सम्झौताले ठूलो लगानी, पूर्वाधार आधुनिकीकरण र पारस्परिक लाभको अवसर सिर्जना गर्ने दाबी गरेकी छन्।

हस्ताक्षरपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो एउटा समझदारीपत्र मात्रै भएको बताएका छन्।

ुपूर्ण सम्झौता होइन। समझदारीपत्र मात्रै हो। तर यसले सकारात्मक मनशाय झल्काउँछ,ु उनले भने।

फेब्रुअरी २८ मा खनिज सम्झौताका लागि ह्वाइट हाउस पुगेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग चर्काचर्की परेपछि फर्किएका थिए।

चर्काचर्की परेपछि खनिज सम्झौता पनि रोकिएको थियो। त्यसपछि खनिज सम्झौताकै लागि अमेरिका र युक्रेनबीच प्रत्यक्ष वार्ता भएको छैन। बरू, युक्रेनमा युद्ध अन्त्यका लागि साउदी अरबमा अमेरिकाले रूस र युक्रेनसँग वार्ता गरेको थियो।

युक्रेनले भने खनिज सम्झौतामा सुरक्षा ज्ञारेन्टी खोजेको छ। अमेरिकाले युक्रेनी भूभागमा प्लान्टहरू स्थापना गर्नु नै सुरक्षा ज्ञारेन्टी हो भन्दै आएको छ।

हालको समझदारीले भने अमेरिकासँगको वार्ता पुनः सही दिशामा ल्याएको युक्रेनी अधिकारीहरूले बताएका छन्।