काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन १० महिना पछि सरेको छ । यसअघि यही वैशाखमा गर्ने भनेर तय गरिएको महाधिवेशन अब फागुनमा हुने भएको छ ।
केन्द्रीय समिति बैठकले आउँदो फागुन ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
महाधिवेशनको मितिसँगै २०८२ को क्यालेन्डर पनि तयार गरेको झाले बताए । हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको १९७५ वडा समिति गठन भइसकेको र त्यसमध्ये ७०० वडामा अधिवेशन सम्पन्न भइसकेको उनले बताए ।
‘७५३ पालिकामध्ये ४५८ पालिकामा समिति गठन भइसकेको छ । ७० जिल्लामा भेला आयोजना भएर समिति गठन भइसकेको छ । सातै प्रदेशमा समिति गठन भएको छ’, बैठकमा कार्यवाहक प्रवक्ता झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्धारित क्यालेन्डर अनुसार पार्टीले २०८२ असोजसम्ममा वडा अधिवेशन सम्पन्न गरिसक्ने, कार्तिकसम्ममा पालिका अधिवेशन, मंसिरसम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने र २०८२ फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।’
पार्टीको प्रादेशिक समिति र मातहतका पार्टी संरचनालाई अझै सशक्त बनाउने उद्देश्यले सातै प्रदेशमा इन्चार्जहरू पनि तोकिएको झाले बताएका छन् ।
प्रतिक्रिया