नेपाली नयाँ वर्षमा अष्ट्रेलियामा फहरायो झण्डा, होबार्ट सिटी काउन्सिलमा नेपाली झण्डोत्तोलन

नेपाली नयाँ वर्षमा अष्ट्रेलियामा फहरायो झण्डा, होबार्ट सिटी काउन्सिलमा नेपाली झण्डोत्तोलन


होबार्ट, तास्मानिया । नेपाली सोसाइटी अफ तास्मानियाको अगुवाइमा नेपाली नयाँ वर्ष २०८२ को अवसरमा होबार्ट सिटी काउन्सिलको टाउन हल स्टेप्समा नेपाली झण्डा फहराइएको छ। नयाँ वर्षको पहिलो दिन वैशाख १ गते झण्डोत्तोलन गरिएको झण्डा दिनभर तास्मानियामा नेपालीको उपस्थितिको उत्सव जस्तै फहराइरह्यो ।

विहान साढे १० बजे झण्डोत्तोलन गरेपछि मेयरको कोर्ट रूममा सानो जमघट आयोजना गरिएको थियो ।

कार्यक्रममा होबार्ट सिटी काउन्सिलका काउन्सिलर माइक दत्ताले बोल्दै शहरले बहुसांस्कृतिक समुदायलाई आत्मसात गर्ने नीति अवलम्बन गरिरहेको र नेपाली समुदायजस्ता क्रियाशील समूदायहरूले सहकार्य र सहभागितामार्फत् समाजमा सकारात्मक प्रभाव पारिरहेको बताए।

नेपाली सोसाइटी अफ तास्मानियाकी अध्यक्ष रोजिना ताम्राकारले नेपाली समुदायले अब नीतिगत तहमा बसेर काम गर्ने वातावरण सिर्जना गर्नु जरुरी रहेको भन्दै, त्यस्तो अवसर पाउँदा मात्रै बहुसांस्कृतिक समुदायको वास्तविक हित सुनिश्चित हुने बताइन्।

कार्यक्रममा तास्मानियामा क्रियाशील नेपाली व्यवसायिक नेतृत्व, सामुदायिक अगुवाहरू, एनआरएनए तास्मानिया राज्य संयोजक जगदीश खड्का, एनबीएका सचिव अरुण आचार्य, नेष्टका सल्लाहकार संसार राज चिमोरिया, एनटीएसएका अध्यक्ष बिष्णु सापकोटा, टीएनसीए अध्यक्ष कमल भण्डारी,र एन्जा अष्ट्रेलियाका कोषाध्यक्ष खगेन्द्र सत्यााल लगायत सहभागी थिए ।

कार्यक्रमले तास्मानियामा रहेका नेपालीहरूको पहिचान, योगदान र विविध संस्कृतिको सम्मान गर्दै एउटा ऐतिहासिक मार्ग खोलेको सहभागीहरुले बताएका थिए ।