अष्ट्रेलियामा हुन्डीमार्फत नेपाली विद्यार्थी ठग्ने भरत केसीको देशनिकाला सदर !

अष्ट्रेलियामा हुन्डीमार्फत नेपाली विद्यार्थी ठग्ने भरत केसीको देशनिकाला सदर !

आफ्नो बचाउ बयानमा केसीले दिए यस्ता किस्सा



मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियामा हुन्डीमार्फत नेपालमा पैसा पठाइदिन्छु भन्दै २ लाख २० हजार डलरभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ परेका भरत केसीले डिपोर्ट रोक्नका लागि दिएको निवेदन खारेज भएका छ । यहाँको अध्यागमन र बहुसांस्कृति मन्त्रीलाई विपक्षी बनाउँदै अष्ट्रेलियाबाट देशनिकाला गर्ने निर्णयको विरुद्ध गरिएको अपिल खारेज भएको हो । यसको अर्थ अब उनलाई अष्ट्रेलियाबाट देशनिकाला गरिने पक्का भएको छ । यद्यपि अप्रिल ८ तारिख गरिएको निर्णयपछि अब उनीसँग यसका विरुद्ध उच्च अदालत जाने बाटो भने बाँकी नै छ ।

सिड्नीमा धेरै नेपालीहरुलाई हुन्डीमार्फत रकम पठाउँछु भन्दै ठगेपछि मेलबर्नमा सरेका उनलाई भिक्टोरिया राज्यको अदालतले सन् २०२२ मार्च २१ तारिखका दिन तीन वर्ष १० महिना जेल सजाय सुनाएको थियो । यसअधि ३० जुलाई २०२० मा नै उनी पक्राउ परेका थिए । अदालतले सुनाएको आदेशमा साढे दुई वर्षसम्म कुनैपनि जमानत स्वीकार नगरिने सजाय थियो । अदालतको यो निर्णयपछि उनको स्थायी बसोबास अनुमति पत्र अर्थात् पीआर स्वतः खारेज भएको थियो । अष्ट्रेलियामा १२ महिनाभन्दा बढी सजाय हुने अपराधमा संलग्न भएको अवस्थामा यस्ता आप्रवासीहरुको पीआर रद्द गर्दै उनीहरुलाई देशनिकाला गर्ने नियम यहाँको अध्यगमन कानूनमा छ ।
जेल सजाय काटेपछि उनले आफ्नो परिवारको अवस्था, छोरी र श्रीमतीलाई हेर्नुपर्ने आदि कारण देखाउँदै देश निकाला नगर्न अपिल गरेका थिए । उनको यस्तो निवेदनलाई अष्ट्रेलियाको समूदायका लागि उनीबाट खतरा हुनसक्ने कारण देखाउँदै अदालतले खारेज गरिदियो । त्यसपछि उनी मन्त्रीसमक्ष पुनरावेदन गर्न पुगेका थिए ।

भरत केसीले ठगी गरेको रकम फिर्ता गराउन भिक्टोरियाको नेपाली सामाजिक संघसंस्था र पत्रकारको रोहवरमा निजलाई उपस्थित गराइएको थियो । केसीले एक लाख डलर फिर्ता गर्ने र बाँकी विस्तारै फिर्ता गर्ने बताएपनि कहिल्यै त्यस्तो रकम फिर्ता गरेनन् । यसरी ठगी गरिएको रकम २ लाख २० हजार डलरभन्दा बढी थियो । प्रहरी समक्ष उजुरी गरेका २० जनाको मात्रै यति रकम ठगी भएको थियो भने कैयौंले उजुरी समेत गर्न सकेका थिएनन् । उजुरी दिने २० जनाले नै प्रहरी समक्ष आफैं उपस्थित भएर घटनामा ठगिएको रकम, ठगीका कारण आफ्नो मानसिक स्वास्थ्यमा परेको असर, नेपालमा पठाइएको रकम नपुग्दा परिवारमा पर्न गएको चोट लगायतमा सम्बन्धित भएर आफ्नो बयान दिएका थिए ।

जेलबाट छुट्न अनेक अनेक बयान

भरत केसीले दिएको बयान, उनका आफन्तहरुको बयान लगायतलाई अध्ययन गर्ने हो भने निजले अदालतलाई ढाँटेको प्रष्ट हुन्छ । निर्णयको पेज नम्बर २९ मा केसीको श्रीमतीको बयान भन्दै नेपाली समूदायले ठगीबाट पीडितको रकम फिर्ता गराउनका लागि निजसँग गरेको सम्वादलाई दबाबमा गराइएको सम्झौता सम्म भनिएको छ । तर, न्यायाधीशले त्यसलाई पत्याएको देखिँदैन । व्यवसायमा घाटा भएपछि विस्तारै जुवाको लतमा फसेको दावी पनि विभिन्न बयानहरुमा गरिएको छ । यसबाट निजले आफैंले अमेरिकामा नेपाली क्यूरियोको कारोबार भएको र त्यहाँ बस्न भाईको मद्दतबाट तत्कालका लागि ५० हजार अमेरिकी डलर ल्याउने र बाँकी रकम विस्तारै तिर्ने सहमति गरेका थिए । बयानको पेज नम्बर २९ मै श्रीमतीको तर्फबाट दिइएको बयानमा देश निकाला गरेपनि डिभोर्स नदिने र बेला बेला नेपाल भेट्न जाने बताइएको देखिन्छ ।

यस्तै आफुलाई ठगी काण्डबाट छुटाउनका लागि केसीले अदालतमा नेपाल हस्तकला महासंघको लेटरप्याडमा समूदायको लागि काम गरेको भन्दै चिठ्ठी समेत बुझाएको देखिन्छ । तर, त्यसलाई अदालतले भने कुनै महत्व दिएन । यस्तै अष्ट्रेलिया आएपछि काम कोठा खोज्नका लागि १०० जनाभन्दा बढी विद्यार्थीहरुलाई सहयोग गरेको दाबी समेत पेश गरिएको छ ।

आफुलाई अष्ट्रेलियाबाट देश निकाला गरिएको अवस्थामा ज्यानकै खतरा समेत पर्नसक्ने जिकिर पनि बयानमा गरिएको थियो । किनकि, ति व्यक्तिहरु जसलाई उसले ठगेको छ ति व्यक्तिहरु खतरनाक र शक्तिशाली छन् । बयानमा केसीले भनेका छन् । उनले आफ्नो बचाउमा देशलाई गाली गर्न पनि छाडेका छैनन् उनले देशको अवस्था चिन्ताजनक रहेको, भ्रष्टाचार व्याप्त रहेको असुरक्षा रहेको समेत लेखेका छन् ।

यस्तो छ अपिल ट्राईबुनलको निर्णयको पूर्णपाठ –