मेलबर्न, अष्ट्रेलिया ।
फेडरेसन अफ नेप्लीज कम्युनिटी एशोसिएसन अफ अष्ट्रेलिया अर्थात् फेन्का । नामबाटै प्रष्ट छ यो अष्ट्रेलियामा रहेका नेपालीमूलका बासिन्दाहरुले विभिन्न राज्यमा खोलेका संस्थाको संघीय छाता संगठन हो । यसको स्थापना सन् २०१५ मा सिड्नीमा आयोजना गरिएको एक विशेष भेलाले गरेको थियो । एनआरएन अष्ट्रेलियाको समेत सक्रियतामा आयोजना गरिएको उक्त भेलामा विभिन्न राज्यबाट आएका प्रतिनिधिहरुलाई समूह समूहमा विभाजित गरेर संस्थाको उद्देश्य, स्थापना र यसको भावी रणनीतिका बारेमा छलफल चलाइएको थियो ।
१० वर्षको यो यात्रामा फेन्काले आफ्नो उद्देश्यमा कति सफलता पायो ? यसको स्थापनाका लागि सक्रियता देखाएको एनआरएनले १० वर्षे यात्रामा फेन्कालाई साथ दियो ? यिनै विषय आज हामीले विश्लेषण गर्ने प्रयास गरेका छौं ।
बुधबार साँझ एक जुम सेसनको आयोजना गरी १० वर्षे यात्राको विषयमा छलफल आयोजना गरियो । छलफलमा अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव प्रमुख अतिथिको रुपमा सहभागी थिइन् । कार्यक्रममा फेन्काले प्रकाशित गरेको न्यूजलेटर सार्वजनिक गरियो । फेन्काका प्रवक्ता भोला गिरी भन्छन् १० वर्षको यो उत्सव ईतिहासको अभिलेखिकरण मात्र होइन भविष्यको प्रस्थानविद्यु पनि हो । यो यात्रामा साथ दिने सबैलाई हामी धन्यवाद दिन चाहन्छौं ।
अष्ट्रेलियामा रहेका २ सय भन्दा बढी नेपालीमूलका व्यक्तिहरुले खोलेका सामूदायिक संघसंस्थामध्ये ९५ मात्रै फेन्कामा आबद्ध छन् । यो संख्या कम होइन । तर, बुधबारको एक दशकको उत्सवमा भने भर्चुअल माध्यमबाट पनि जम्मा ४०,५० जना सहभागिताले फेन्काको सक्रियतालाई संकेत गर्दछ । यसतर्फको आकर्षणलाई सार्वजनिक रुपमा प्रदर्शन गर्दछ भन्दा फरक नपर्ला । फेन्काको १० वर्षे यात्रामा सबैभन्दा प्रभावकारी रुपमा सञ्चालन भएको कार्यक्रम एभरेष्ट डे अर्थात् सगरमाथा दिवस मनाउने चलन हो भन्दा फरक नपर्ला । तर, त्यस बाहेक संघीय तहमा विभिन्न मन्त्री, मन्त्रालयहरुसँगको अन्तरक्रिया छ भएको छ तर तिनले देखिनेखालका उपलब्धी भने हासिल भइसकेका छैनन् ।
फेन्काको स्थापनाकालमा एनआरएन अभियानमै जोडिएका प्रबुद्ध व्यक्तिहरु यसमा आबद्ध भए । यो क्रम जारी छ । तर, एनआरएन अष्ट्रेलियासँग यसको सम्बन्ध सहकार्यगत भन्दा पनि प्रतिस्पर्धात्मक जस्तो भने जनमानसमा देखिएको छ । एनआरएनले नेपालमा सञ्चालित हुने कार्यक्रममा बढी फोकस हुने र फेन्का अष्ट्रेलियामा रहेका नेपालीहरुको निम्ति सक्रिय हुने अघोषित जस्तो समझदारी भएपनि एनआरएन फाउन्डेसनको स्थापना, विभिन्न राज्य टेरेटोरीमा आयोजना हुने नेपाल फेष्टिभल लगायतका कार्यक्रममा फेन्कासँगको सहकार्यको अभाव लगायतका विषयहरुले फेन्काकै उपादेयता के हो भन्ने प्रश्न उब्जाउने गरेका छन् ।
फेन्काका प्रवक्ता गिरीकै शब्द सापटी लिने हो भने फेन्काले गर्नुपर्ने काम धेरै छन् । तर यो लक्ष्यमा फेन्का पुग्न सकेको छैन । प्रगतिकै चरणमा छ । सबैभन्दा ठूलो चुक भनेकै नेपाली सामूदायिक संघसंस्थाहरुको विश्वास आर्जन गर्न नसक्नु र गरेका कामहरुलाई पनि आम अष्ट्रेलियावासी नेपालीहरुमाझ लैजान नसक्नु नै हो भन्दा फरक पर्दैन ।
एक शब्दमा भन्नुपर्दा फेन्काको जन्म त भयो, १० वर्षको यात्रा पनि अघि बढ्यो तर यो संस्था एजेन्डागत रुपमा स्पष्ट र वैचारिक रुपमा परिपक्व हुन सकेको छैन ।
प्रतिक्रिया