नेपाल फेष्टिभल ब्रिसबेनमा कन्दराको कन्सर्ट, विवेकको सन्देश छोराछोरीलाई नेपाली भाषा सिकाउनुस् !

नेपाल फेष्टिभल ब्रिसबेनमा कन्दराको कन्सर्ट, विवेकको सन्देश छोराछोरीलाई नेपाली भाषा सिकाउनुस् !


ब्रिसबेन, अष्ट्रेलिया ।

“दर्शक हाम्रा भगवान हुन्, चाहे जस्तोसुकै अवस्था वा परिस्थिति किन नहोस्, हामी आफ्ना भगवान स्वरूप दर्शकहरूलाई निराश बनाउन सक्दैनौं।” यही भावना बोकेर कन्दराले नेपाल फेस्टिवल २०२५ वर्ल्ड टुर अन्तर्गतको अस्ट्रेलिया यात्रा ब्रिसबेनमा सम्पन्न गरेको छ।

प्राविधिक समस्याका कारण ब्यान्डको उपस्थितिको अनिश्चितताबीच, राति ९ बजेसम्म हजारौं दर्शकहरू प्रतीक्षारत थिए। ब्यान्ड अचानक “चञ्चले कान्छीको जोवन” को उद्घोष गर्दै मञ्चमा उक्लँदा समस्त भीड उत्साहले चिच्याउन थालेको थियो तालीको गडगडाहटबीच । साना केटाकेटीदेखि वृद्ध बाबुआमासम्म, सम्पूर्ण परिवार सँगसँगै “तिमी पारी”, “तगारोमा रुमाल राखी”, “लेक कि हे माया”, “हङकङ पोखरा” जस्ता प्रिय गीतहरूको धुनमा रमाइरहेका थिए।

कार्यक्रमको सबैभन्दा भावुक क्षण त्यतिबेला आयो जब मुख्य गायक विवेक श्रेष्ठले आफ्नी चार वर्षीया छोरीलाई मञ्चमा बोलाए। छोरीले हङकङ पोखरा को दुई हरफ लजाउँदै, डराउँदै गाउने प्रयास गर्दा, दर्शकहरूको मन गह्रौं भयो। गायक श्रेष्ठले सम्पूर्ण प्रवासी अभिभावकहरूलाई सम्बोधन गर्दै भनेस्
“विदेशी भूमिमा हामीले आफ्ना सन्ततिलाई हस्तान्तरण गर्न सक्ने सबैभन्दा अमूल्य उपहार भनेकै भाषा हो, नेपाली भाषा। भाषा बाँच्छ भने साहित्य, कला र संस्कृति पनि बाँच्छ। त्यसैले घरमा नेपाली नै बोलौं र आफ्ना सन्तानलाई नेपाली गीत/सङ्गीत, कला र संस्कृतिमा रमाउने वातावरण सिर्जना गरौं।”

उहाँका शब्दहरू दर्शकदीर्घाबाट सकारात्मक स्वीकृति सहित गडगडाहटपूर्ण तालीमा परिणत भयो।

ब्रिसबेनको यो कार्यक्रमसँगै कन्दराले अस्ट्रेलियाको नेपाल फेस्टिवल यात्राको अन्तिम प्रस्तुति सम्पन्न गरेको छ। अब आउँदो आइतबार, अप्रिल १३ मा न्यू क्यासलस्थित नेपाली समुदायसँग नयाँ वर्ष मनाउने विशेष कार्यक्रम आयोजना हुने जानकारी दिइएको छ।

यसपछि कन्दराको वर्ल्ड टूर क्यानडा र अमेरिका तर्फ अगाडि बढ्दैछ। नेपाली भाषा, संस्कृति र गीत–सङ्गीतलाई विश्वका हरेक कुनामा पु-याउने कन्दराको अभियान निरन्तर रहिरहनेछ।