सकियो नेपाल महोत्सव तास्मानिया २०२५, कला, संस्कृति र परम्परा जोगाउन आग्रह

सकियो नेपाल महोत्सव तास्मानिया २०२५, कला, संस्कृति र परम्परा जोगाउन आग्रह


होबार्ट, तास्मानिया – नेपाल महोत्सव तास्मानिया २०२५ भव्य रूपमा सम्पन्न भएको छ। बिहान १० बजेबाट सुरु भएको परेड मनोरम समुद्री किनारैकिनार हुँदै पार्लियामेन्ट लनमा पुग्दा नेपालीहरू नभई विभिन्न देशका नागरिकहरू समेत विशेष चासोका साथ सहभागी भएका थिए।

विविध भेषभूषा तथा नेपाली झण्डा हातहातमा बोकेर परेडमा सहभागी भएका नेपाली समुदायका सदस्यहरूले सालामांका क्षेत्रलाई सानो नेपालझैं बनाएका थिए। परेडपछि मध्यान्ह १२ बजेबाट औपचारिक कार्यक्रम सुरु भयो, जसमा अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव, लेबर पार्टीका राज्य प्रतिनिधिहरू एला हद्दाद, डिन विन्टर, र मन्त्री म्याडेलिन ओगिल्भी, साथै न्यू साउथ वेल्सका अवैतनिक वाणिज्यदूत सञ्जीव शर्मा, एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल लगायत उपस्थित थिए ।

कार्यक्रममा बोल्दै अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले जहाँ पुगेपनि, जहाँ रहेपनि आफ्नो भाषा, संस्कृति र परम्परालाई अंगाल्न र त्यसमा गर्व गर्न अनुरोध गरेकी थिइन् । उनले अष्ट्रेलियाको बहुसांस्कतिक समाजको अभिन्न अंगका रुपमा नेपाली समाजलाई समेटेकोमा धन्यवाद पनि दिइन् ।

कार्यक्रममा बोल्दै एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले तास्मानियामा नेपाली समुदायको उपस्थिति उल्लेखनीय रहेको बताउँदै, यहाँको सरकारी नीति निर्माण तहमा समेत संलग्न भई काम गर्ने आवश्यकतामा जोड दिए।
कार्यक्रममा तास्मानियाका प्रिमियरले एक भिडियो सन्देश दिँदै दोश्रो नेपाल फेष्टिभलको सफलताको कामना गरेका थिए ।

बिहानको प्रस्तुतिमा दोस्रो पुस्ताका नेपाली बालबालिकाहरूको समेत सहभागिता रह्यो, जसले नेपाली कला र संस्कृतिको झल्को दिएका थिए। साँझ आयोजित सांगीतिक कार्यक्रममा चर्चित गायक युवराज चौलागाईं र गायिका समिक्षा अधिकारीको प्रस्तुतिले तास्मानियाको चिसो मौसमलाई तताएको थियो। साथै, कन्दरा ब्याण्डको विशेष प्रस्तुतिले उपस्थित दर्शकलाई झनै उत्साहित बनायो।

कार्यक्रममा एनआरएनए एससीसी तास्मानियाका राज्य संयोजक जगदीश खड्काले महोत्सवलाई सफल बनाउन योगदान गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले तास्मानियाका सम्पूर्ण नेपाली समुदायलाई ऐक्यबद्धताको लागि आभार व्यक्त गर्दै नेपाल फेष्टिभलको सफलतम आयोजनाका लागि भविष्यमा पनि समूदाय एकताबद्ध भएर लाग्नुपर्ने बताएका थिए ।

नेपाल फेष्टिभल तास्मानिया २०२५ नेपाली संस्कृति, एकता र पहिचानलाई प्रवर्द्धन गर्ने विशेष अवसर बन्न सफल भएको छ ।