काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको जिम्मा ज्ञानेन्द्र शाहले लिनुपर्ने काँग्रेसको ठहर

काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको जिम्मा ज्ञानेन्द्र शाहले लिनुपर्ने काँग्रेसको ठहर


काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार काठमाडौंको तीनकुने र कोटेश्वर क्षेत्रमा भएको हिंस्रक घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले घटनाको सम्पूर्ण जिम्मेवारी ज्ञानेन्द्रले लिनुपर्ने निष्कर्ष निकालेको हो ।
बैठकले घटनाप्रति दुस्ख व्यक्त गर्दै उक्त घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक सविन महर्जनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

बैठकले कांग्रेसको अगुवाइमा गणतन्त्रवादी सबै दलसँग एकपटक छलफल गर्ने निर्णय समेत गरेको केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पूर्वराजा शाहकै निर्देशनमा शुक्रबारको घटना भएको बताए । उनले एउटा निरंकुश शासनतर्फ लाने मनसायका साथ यो घटना घटाएको कांग्रेसको निष्कर्ष रहेको बताए ।

राजावादीहरू अराजक रूपमा प्रस्तुत हुने र सबै कब्जा गरेर जाने लक्ष्यका साथ हिंसात्मक गतिविधिमा उत्रिएको महतले बताए ।

शुक्रबार भएको राजावादीको प्रदर्शनमा पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो । पत्रकार रजकको आन्दोलनकारीले घर जलाउँदा त्यही आगोमा जलेर मृत्यु भएको थियो भने महर्जनको गोली लागेर मृत्यु भएको हो ।