काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया थालेको छ ।
उच्च सरकारी स्रोतका अनुसार शुक्रवारको हिंसात्मक आन्दोलनको निर्देशन उनैबाट भएकोले छानविन थालिएपछि विदेश भाग्ने आशंकामा राहदानी रद्द गर्ने प्रक्रिया अघि बढेको हो ।
स्रोतले भन्यो–हिजोको हत्या,आगजनी र लुटपाटको फिल्ड कमाण्डर दुर्गा प्रसाई हो तर उसलाई अघिल्लो दिन बोलाएर निर्देशन दिने तथा आर्थिक स्रोत जुटाउने व्यक्ति ज्ञानेन्द्र शाह हुन् भन्ने पुष्टि भइसकेको छ ।
सरकारमाथि ज्ञानेन्द्रलाई कारवाही गर्न विपक्षी दलहरुबाट पनि दबाब बढिरहेको छ । यस्तोमा उनी अनुसन्धान थालिएपछि विदेश भाग्न सक्ने आशंकामा पासपोर्ट रद्द गर्न लागिएको हो । यो प्रक्रिया अघि बढिसकेको छ । नेपाल प्रेस
यसैबीच, काठमाडौँको तीनकुने क्षेत्रमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवानावापत महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा पत्र काटेको छ।
महानगरपालिकाले विभिन्न ८ वटा शीर्षकमा जरिवाना तोकेको छ।
एउटा शीर्षकमा १ लाख ३० हजार, ६ वटा शीर्षकमा १/१ लाख र एउटा शीर्षकमा ६३ हजार गरी ७ लाख ९३ हजार रूपैयाँको बिल महानगरपालिकाले निर्मल निवासमा पठाएको छ।
तीनकुने वितण्डाको मुख्य दोषी ठहर गर्दै महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई यो जरिवाना तोकेको हो।
सिनामंगल क्षेत्रमा सडकपेटीमा जथाभावी फोहोर गरेको, तीनकुनेमा रुखबिरुवा र रेलिङ तोडफोड गरेको, तीनकुने आइल्यान्डमा तोडफोड गरेको, तीनकुनेकै सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको, महानगरपालिकाको दमकलसहित अग्नि नियन्त्रकहरूलाई ढुंगामुढा गरी दमकल फुटाएको लगायतका आरोपमा यो जरिवाना तोकेको महानगरपालिकाले पत्रमा उल्लेख गरेको छ।
प्रतिक्रिया