काठमाडौंको केही क्षेत्रमा कफ्र्यू, सेना सडकमा, विमानस्थल केहीबेर बन्द

काठमाडौंको केही क्षेत्रमा कफ्र्यू, सेना सडकमा, विमानस्थल केहीबेर बन्द



काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा तनाव भएपछि नेपाली सेना सुरक्षाका लागि खटिएको छ। सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीका अनुसार सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सेना सडकमा खटिएको हो। उहाँले सेना परिचालन नभएर खटिएको प्रष्ट पारेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार दिउँसोबाट निषेधाज्ञा (कर्फ्यू) जारी गरेपछि सेनाको टोली परिचालन गरिएको हो।

सेनाको बख्तरबन्दसहितको टोली तीनकुनेसहितका क्षेत्रमा पुगेको हो। काठमाडौं जिल्ला प्रशासनले शुक्रबार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेपछि सुरक्षाका लागि सेना खटिएको हो।

निषेधाज्ञा अवधिभर आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसैगरी, गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म निषेधाज्ञा जारी गरिएको छ। यसैबीच, विमानस्थल वरपर स्थिति हिंसात्मक बनेपछि अन्तर्राष्ट्रिय विमानहरुलाई आकाशमा नै होल्ड गरिएको छ भने विमानस्थल केही समयका लागि बन्द गराइएको छ ।