अष्ट्रेलियाको चुनावर्पूर्वको संघीय बजेट, सर्वसाधारणलाई के फाईदा ?

अष्ट्रेलियाको चुनावर्पूर्वको संघीय बजेट, सर्वसाधारणलाई के फाईदा ?


मेलबर्न, अष्ट्रेलिया ।

मंगलबार साँझ अष्ट्रेलियाका ट्रेजरर जिम चामर्सले निर्वाचनपूर्वको संघीय बजेट संसदमा प्रस्तुत गरे । मुख्यत यसमा विद्युत शुल्कमा राहत, सस्तो औषधि र पहिलो घर खरिदकर्तालाई प्रोत्साहन मुख्य रहेको छ । यस बाहेक अघिल्लो वर्ष नै घोषणा गरिएको करकट्टाको नीतिलाई निरन्तरता दिइएको छ ।
अष्ट्रेलियावासीले यतिबेला भोगिरहेको प्रमुख समस्या मूल्यबृद्धि हो । जसले गर्दा उनीहरुको दैनिक जीवनमा आवश्यक खर्च बढेर गएको छ । यसलाई सम्बोधन गर्ने भन्दै सरकारले करको दरमा २ प्रतिशतले कमी गर्ने निर्णय गरेको छ । यो सबैभन्दा म आय भएकाहरुको हकमा लागू हुनेछ । जसले उनीहरुको करमा थप २ सय ६८ डलरको छुट प्रदान गर्नेछ । यस्तै विद्युतको महशुलमा आगामी जुनपछि १ सय ५० डलरको छुट उपभोक्ताले प्राप्त गर्नेछन् । सहुलियतपूर्ण औषधिहरुको न्यूनतम मूल्यलाई २५ डलर कायम गरिएको छ । यसअघि यस्तो मूल्य ३१ दशमलब ६० डलर थियो । सरकारले अर्को महत्वपूर्ण निर्णयका रुपमा विद्यार्थीहरुले पढाईका लागि लिएको ऋणको २० प्रतिशत छुट दिने निर्णय परेको छ । यससँगै ऋणचुक्ता गर्नका लागि सहज किस्ताको प्रावधान पनि ल्याइने भएको छ ।
ध्यान दिनुपर्ने कुरा चाहीँ यस पटकको बजेटघाटा ४२ दशमलब १ विलियन डलर हुने अनुमान छ । बजेट पेश गर्दा यो वर्ष ३ लाख ३५ हजार नयाँ आप्रवासीहरु अष्ट्रेलियामा थप हुने अनुमान गरिएको छ । यो संख्या अर्को वर्ष २ लाख ६० हजार हुनेछ । बजेटले न्यूसाउथवेल्स राज्यबाट अन्य राज्यमा जाने संख्या यो वर्ष २८ हजार ३ सय हुने अनुमान गरेको छ । यस्तै भिक्टोरियामा १८ सय अन्तरराज्य बसाई सराई हुने थर अर्को वर्ष २८ सय पुग्ने अनुमान छ ।
अष्ट्रेलियामा घर किन्ने विदेशीहरुलाई अर्को महिनादेखि २ वर्षका लागि प्रतिबन्ध लगाइने भएको छ । जस अन्तर्गत कर कार्यालयले ५ दशमलब ७ मिलियन डलर प्राप्त गर्नेछ । सरकारले नयाँ घर खरिद गर्नका लागि आम्दानी एकललाई १ लाख डलर र जोडीलाई १ लाख ६० हजार बनाएको छ । हाउजिंग क्षेत्रमा कामदारलाई आकर्षण गर्न दिइने प्रोत्साहन भत्तालाई ५ हजारबाट बढाएर १० हजार बनाइने भएको छ । सरकारले हरेक सरकारी स्कुललाई पूर्ण रुपमा अनुदान दिइने जनाइसकेको छ । यस्तै हरेक बालबालिकाहरुलाई सातामा तीन दिन चाईल्ड केयर सुविधा प्राप्त गर्ने व्यवस्था मिलाइने भएको छ । एज्ड केयरमा काम गर्नेहरुको सुविधा थप गरिनेछ । आगामी चार वर्षमा सरकारले सुरक्षा खर्चमा १० विलियन थप गर्ने घोषणा गरेको छ । सरकारले अष्ट्रेलियन सामान खरिदलाई प्रोत्साहन गर्न २० मिलियन डलरको विज्ञापन योजना पनि सार्वजनिक गरेको छ ।