क्यानबेरामा १० हजारको उपस्थितिमा भव्य कन्सर्टपछि अब होबार्ट हल्लाउने दाउमा कन्दरा

क्यानबेरामा १० हजारको उपस्थितिमा भव्य कन्सर्टपछि अब होबार्ट हल्लाउने दाउमा कन्दरा

संगीतका संलग्न सबै सर्जकलाई नबिर्सिन आग्रह गर्दै कन्दरा व्याण्ड


क्यानबेरा, अस्ट्रेलिया । नेपाली लोक-पप संगीतको अग्रणी ब्याण्ड कन्दराले अस्ट्रेलिया टुरको तेस्रो कन्सर्ट क्यानबेरामा ऐतिहासिक रूपमा सम्पन्न गरेको छ। करिब १० हजार दर्शकको अपूर्व साथ रहेको यस भव्य कार्यक्रमले नेपाली संगीतप्रेमीहरूको मन जित्यो। ब्याण्डले आफ्ना कालजयी गीतहरू प्रस्तुत गर्दा दर्शकहरू एक स्वरमा गाइरहेका थिए, र सम्पूर्ण कार्यक्रम संगीत र भावनाले भरिपूर्ण बन्यो।

कन्सर्टको सबैभन्दा महत्त्वपूर्ण क्षण तब आयो जब ब्याण्डका मुख्य गायक विवेक श्रेष्ठ ले ‘जति माया लाए पनि’ गीत प्रस्तुत गर्ने क्रममा दर्शकहरूलाई प्रश्न गर्दै सोधे :

“यो गीतको गायक को हुनुहुन्छ?”
भीडबाट एक स्वरमा उत्तर आयो – “अरुण थापा!”

त्यसपछि उनले पुनः प्रश्न गरे :
“तर, यस गीतका गीतकार को हुनुहुन्छ ?”
भीड केही क्षण मौन रह्यो ।

यही मौनतालाई सम्बोधन गर्दै श्रेष्ठले भने, “हो, यही हो हामीले भन्न खोजेको कुरा। गायकलाई मात्र होइन, गीत बनाउने हरेक सर्जक—गीतकार, संगीतकार, एरेन्जर—सबैलाई सम्मान दिनुपर्छ।”

श्रेष्ठले खुलासा गरे कि ‘जति माया लाए पनि’ का गीतकार स्व. बिनोद गौचन हुन्, जसले यो कालजयी सिर्जना गरेका थिए। नेपाली संगीतमा गीतकार र संगीतकारको योगदान अमूल्य रहेको उल्लेख गर्दै, श्रेष्ठले कन्दरा ब्याण्डका मुख्य संगीतकार तथा गीतकार सुनील थापा लाई विशेष सम्मान प्रकट गरे।

यस ऐतिहासिक कन्सर्टमा कन्दराले “चन्चले कान्छी”, “तगारोमा रुमाल राखी”, “तिमि पारी”, “लेक कि हे माया”, “हंगकंग पोखरा” जस्ता लोकप्रिय गीतहरू प्रस्तुत गर्‍यो।
दर्शकहरू हर एक गीतमा ताली, उत्साह र गुञ्जायमान स्वरमा सहभागी भईरहेका थिए। नेपाली संगीतलाई अस्ट्रेलियामा प्रवर्धन गर्ने कन्दराको प्रयासलाई सबैले खुलेर स्वागत गरे।
कन्दराले यसअघि एडीलेड र मेलबर्नमा शानदार प्रस्तुति दिइसकेको छ। क्यानबेरापछि अब टोली तास्मानियाको होबार्ट, त्यसपछि ब्रिसबेन र न्यूक्यासल मा कन्सर्ट गर्दै यसपालिको अस्ट्रेलिया टुरलाई समापन गर्ने तयारीमा छ।
“संगीत भनेको सिर्जना हो, सिर्जनामा संलग्न सबै सर्जकहरूको योगदान उत्तिकै महत्त्वपूर्ण छ,” ब्याण्डका गायक विवेक श्रेष्ठले भने, “नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा अझ मजबुत बनाउने हाम्रो यात्रामा साथ दिनुभएकोमा सम्पूर्ण दर्शकलाई हृदयदेखि धन्यवाद।”

कन्दरा अब होबार्टतर्फ अग्रसर हुँदैछ, जहाँ अर्को ऐतिहासिक कन्सर्टका लागि तयारी भैरहेको छ। अबको शनिबार होबार्टको पार्लियामेन्ट लेनमा कन्दराले अफ्नो कन्सर्ट गर्दैछ । नेपाल फेष्टिभलमा झुमिरहेका दर्शकहरुलाई नेपाली लोकपप यात्रामा लैजाने उसको योजना छ ।