नेपाल महोत्सव तास्मानिया २०२५, यस्तो छ सांस्कृतिक परेडको रुट !

नेपाल महोत्सव तास्मानिया २०२५, यस्तो छ सांस्कृतिक परेडको रुट !


एनआरएनए तास्मानिया एससीसीले गर्न लागेको नेपाल महोत्सव २०२५ यहि मार्च २९ मा सालामान्कामा अवस्थित पार्लियामेन्ट लनमा हुँदैछ । बुधबार समूदायसँगको छलफलका क्रममा एनआरएन तास्मानियाका संयोजक संयोजक जगदीश खड्काले सम्पूर्ण तयारी पूरा भएको बताउँदै सांस्कृतिक परेडको रुट पनि सार्वजनिक गरेका छन् ।

कार्यक्रममा तास्मानियामा रहेका विभिन्न सामाजिक संस्थाहरु, प्रायोजकहरु, सञ्चारमाध्यमका प्रतिनिधिहरु तथा एनआरएनए एससीसी तास्मानियाका कार्यकारी सदस्यहरुको उपस्थिति थियो। राज्य संयोजक खड्काका अनुसार यसपटक महोत्सव शनिबार हुने भएकाले पर्रेडको रुटमा केही परिर्वतन गरिएको छ। शनिबार सालामान्कामा स्थानीय बजार लाग्ने भएकाले पर्रेडको मार्गमा केहि हेरफेर गर्नुपरेको खड्काले जानकारी दिए ।

कार्यक्रममा बोल्दै उपसंयोजक उत्तम अधिकारीले अबको बाँकी समय प्रचारप्रसारमा केन्द्रित हुने बताए । उनले तास्मानियावासी नेपालीभाषीहरुलाई पर्रेडमा आउँदा आ-आफ्नो परम्परागत भेषभूषा तथा नेपाली झण्डासहित उपस्थित हुन आग्रह गरे ।

मुख्य प्रायोजक अजी फाइनान्स एण्ड होम लोन तास्मानियाका निर्देशक रेवन्त बस्नेतले नेपाल फेष्टिभलमा आबद्ध हुन पाउँदा खुशी लागेको बताए । उनले कुनै कसर बाँकी नराखी नेपाल फेष्टिभललाई सफल बताउनुपर्ने समेत बताए ।

त्यसैगरी, एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस तास्मानियाका महाप्रबन्धक रशिक श्रेष्ठले ‘गिभिङ ब्याक टु कम्युनिटी’ अवधारणाअनुसार एक्सपर्ट महोत्सवमा साझेदार बनेको बताएका थिए ।

ब्राइटन कलेजका तर्फबाट प्रकाश अधिकारीले महोत्सवमा सहभागी हुन पाउनु गर्वको विषय भएको बताउँदै कार्यक्रमलाई सफल बनाउन हर सम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

नेपाली सोसाइटी अफ तास्मानियाकी अध्यक्ष रोजिना ताम्राकारले तास्मानियामा रहेका नेपालीहरुका लागि नेपाल महोत्सव महत्वपूर्ण पर्व रहेको बताउँदै यो महोत्सवले नेपालीबीच थप एकता ल्याउने विश्वास व्यक्त गरिन् । साथै उनले तास्मानियाको बहुसांस्कृतिक समाजमा नेपालीहरुको उपस्थितिलाई अझ बलियो बनाउने बताइन् ।

टीएनसीएका अध्यक्ष कमल भण्डारीले आफू स्वयंसेवकका रुपमा सहयोग गर्न तयार रहेको बताए । यस्तै एनबीएका अध्यक्ष उमेश सुनाचुरीले आफ्नो संस्थाको तर्फबाट आवश्यक सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यस्तै, एनटीएसएका अध्यक्ष विष्णु सापकोटाले कार्यक्रमको हिस्सा बन्न पाउँदा खुशी लागेको बताएका थिए भने अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसन एन्जाका कोषाध्यक्ष खगेन्द्र सत्यालले महोत्सवले नेपाली संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा एनआरएनए युवा उपसंयोजक राजीव ओझा, नारी निकुञ्जका सदस्यहरू तथा अन्य सहभागीहरूले एकताका साथ कार्यक्रमलाई भव्य बनाउन प्रतिबद्धता जनाएका छन्।त्यसैगरी, नेपाली समाज तास्मानियाकी सचिव रुमी गौतमले समाजबाट १५ जना स्वयंसेवकहरू महोत्सवका लागि निश्चित भइसकेको जानकारी दिइन् ।

सांस्कृतिक संयोजक विष्णु थापालिया र माया इभेन्ट्सका सुदिक्षा बरुवालले नेपाल महोत्सवलाई व्यवस्थित सञ्चालनको निम्ति आफुहरुको प्रयास रहने जानकारी गराएका थिए । कार्यक्रममा अर्जुन प्रसाईले तास्मानियामा आफ्नो १० वर्षभन्दा बढीको बसाइमा यस्ता कार्यक्रम आयोजना हुँदा अत्यन्त खुशी लागेको बताउँदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रमको सञ्चालन एनआरएनए एससीसी तास्मानियाका सचिव अर्जुन श्रेष्ठले गरेका थिए ।

तास्मानियाको दोस्रो नेपाल महोत्सवमा लोकप्रिय नेपाली व्याण्ड ‘कन्दरा ब्यान्ड’, चर्चित गायिका समीक्षा अधिकारी र गायक युवराज चौलागाईंले आफ्ना प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन् ।